कर्णाली सरकारले मनायो वार्षिकोत्सव
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आफ्नो स्थापनाको वार्षिकोत्सव मनाएको छ । २०७४ साल फागुन ३ गतेका कर्णाली प्रदेश सरकार स्थापना भएको थियो । स्थापनाको तेस्रो वर्ष पुगेको अवसरमा सरकारले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरु याम बहादुर बिसी, हरि बहादुर कुँवर, गोपालसिं रजवार र टीकाराम गौतमलाई मरणोपरान्त सम्मान गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा उनीहरुले ज्यान गुमाएका थिए । यसैगरि कोभिड–१९ को महामारीमा अग्रपक्तिमा रहेर सेवा गर्ने क्रममा कोभिडकै कारण ज्यान गुमाएका स्व. डा. हरि सापकोटालाई पनि मरणोपरान्त सम्मान गरिएको छ ।
समारोहमा जिल्ला खेलकुद विकास समितिका तर्फबाट विभिन्न विधाका खेलाडिहरुले मार्चपास लगायतका प्रदर्शन गरेका छन् । यसैगरि विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका छन् ।
तर कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहलाई नेकपाको ओली पक्षले भने बहिष्कार गरेको छ । समारोहमा नेपाली कांग्रेसबाट एक जना सांसद मात्रै सहभागी छन् । समारोहमा नेपाली कांग्रेसबाट सांसद अमृता शाही सहभागी भएकी छिन् ।
समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै ६ जना मन्त्री, उपसभामुख पुष्पा घर्ती, प्रचण्ड–माधव पक्षको दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु बिन्दमान बिष्ट, सुशीलकुमार थापा, पद्मा खड्का, वीरबहादुर शाही, गणेशबहादुर सिंहको सहभागिता छ ।
प्रदेशसभामा नेकपाका ३३ सदस्य छ्न् । तीमध्ये २२ जना प्रचण्ड–माधव पक्षका छन् ।
समारोह कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले गरेका थिए ।















