Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन : प्रम ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देश समृद्धिउन्मुख भएको बताउनुभयो ।

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन : प्रम ओली

   तीन वर्षदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नदिइएको र  विसं २०७४ फागुनदेखि संसद्मा पेश भएका कैयौँ विधेयक छलफलमा नलगी अघि बढ्न नदिइएको दुःखेसो पोख्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ नजीकको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

  “विगत वर्ष दिनदेखि समयभन्दाअगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ, गठबन्धन सरकारको अर्को कुनै समूहले झैँ आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेतालाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउँसो दुई बजेसम्म नै जारी राखेँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

  प्रतिनिधिसभाको बाँकी कार्यकाल ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बनाउन नदिनका लागि निर्वाचनमा जान उपयुक्त हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा विघटनको सिफारिसलाई संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको प्रति प्रधानमन्त्री ओलीले दुःख प्रकट गर्नुभयो ।