Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

दैलेखमा पहिलोपटक हाफ म्याराथन

दैलेख |

जिल्लामा पहिलो पटक खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ को अबसरमा इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो ।

यहि फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुने प्रतियोगिता जिल्लाका विभिन्न निकाय र स्थानीयहरुको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।

खुला तर्फ हाफ म्याराथप (२१ किलोमिटर) र पाँच किलोमिटर दौड गरी प्रतियोगितामा दुई वटा विधा समावेश गरिएको छ । पाँच किलोमिटर दौडमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी बाहेक राष्ट्र सेवक कर्मचारी र जिल्लाबासी सहभागि हुने पाउनेछन् ।

खुलातर्फको हाफ म्याराथन प्रतियोगितामा नारायण नगरपालिकास्थित काँडाचौर, खुर्सानीबारी, भैसेखोर हुँदै रातापानीसम्म पुगि फर्केर भैसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको सेनानी विश्वकर्माले जानकारी दिए ।

पाँच किलोमिटर दौड तर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगि फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । हाफ म्याराथन हुने रुट एक हजार तीन सय ७५  मिटरदेखि एक हजार छ सय २५ मिटर उचाई र पाँच किलोमिटर दौडको रुट एक हजार तीन सय ७५ मिटरदेखि एक हजार पाँच सय २० मिटर उचाई विच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने सेनाले जनाएको छ ।

हाफ म्याराथन प्रतियोगितामा खुला तर्फको बिजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथन प्रतियोगितामा जिल्लाबासी तर्फ बिजेताले ४ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार, चौथो हुनेले ३ हजार र पाँचौ हुनेले २ हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै पुरुष तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अन्तराष्ट्रिय नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन चाहानेहरुले यहि फागुन २४ गतेभित्र फोन इमेल तथा सेनाको काँडाचौर ब्यारेक र सुरक्षा बेश दुल्लुमा नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ । अन्नपूर्ण पोष्ट