अमरापुरीमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै
काठमाडौं ।
नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।
विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।
तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।
सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।







