Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

तेस्रो चरणमा करिब २५ हजारलाई खोप दिने तयारी

सुर्खेत ।
यही फागुन २३ गतेदेखि संचालन हुने तेस्रो चरणको खोप अभियानमा २४ हजार ९७६ जनालाई खोप लगाउने लक्ष्य जन स्वास्थ्य कार्यालयको रहेको छ । कोरोना खोपका बारेमा जानकारी दिने उद्देश्यले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले यस्तो बताउनु भएको हो ।


विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो समयमा खोपको विकास मात्र होइन यसको प्रयोग पनि भइसकेको छ । पहिलो र दोस्रो चरणमा खोप लगाइ सकिएको छ भने तेस्रो चरणको खोप यही फागनु २३ गतेबाट सुरु हुँदैछ । कोरोना खोपको तेस्रो चरण सुरु हुनै लाग्दा कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत भने ग्रीनजोनमा प्रवेश गर्ने अवस्थामा रहेको बताइएको छ ।

गत माघको १४ गतेदेखि २४ गतेसम्म आयोजना गरिएको पहिलो चरणको खोप अभियानमा २ हजार ३४० जनाले खोप लगाएका छन् भने फागुन २ गतेदेखि१० गतेसम्म संचालन भएको दोस्रो चरणमा ५ हजार १३५ जनाले खोप लगाइ सकेका छन् ।

तेस्रो चरणको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चिकित्सक समेतको ४ वटा मोवाइल टोली, ६ सय बढी स्वयम्सेवक खटिने जनस्वास्थ्य प्रमुख वाग्लेले बताउनु भयो । जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउने तयारी भइरहेको छ भने २२ गते साँझसम्म सबै केन्द्रहरुमा खोप पुगिसक्नेछ ।

यस अघि ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भनिएको भएपनि खोपको उपलब्धताको आधारमा तेस्रो चरणको अभियानमा ६५ वर्ष माथिका उमेर समूहलाई खोप लगाउन थालिएको छ । अन्य लक्षित वर्गका व्यक्तिहरुलाई पनि क्रमशः खोप लगाउँदै जाने लक्ष्य रहेको वाग्लेको भनाई छ । वृद्धवृद्धाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि वृद्धवृद्धाहरुलाई लक्षित समूहमा प्राथमिकता दिइएको छ ।

पहिलो चरण र दोस्रो चरणमा खोप लगाएकाहरुले २०७८ सालको वैशाख ७ गतेदेखि १५ गतेसम्म दोस्रो डोज लगाउने योजना रहेको वाग्लेले बताए । खोप प्रभावकारी भएको र यसलाई परीक्षणको रुपमा नभई विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका कारण सबैले खोप लगाउन हुने बताउँदै वाग्लेले भन्नुभयो, ‘अहिलेसम्मको अनुसन्धानमा खोप ९० प्रतिशत प्रभावकारी छ । खोप लगाएपनि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सुरक्षा भने अपनाउनु पर्दछ ।’ यो खोप लगाएपछि १४ दिनसम्म अन्य खोपहरु भने लगाउनु हुँदैन । तर गर्भवती महिला, कोरोना प्रभावित, ज्वरोका कारण विरामी परेकाहरुले पनि यो खोप लगाउनु हुँदैन ।

कोरोना विरुद्धको खोप अभियानमा सबै वर्ग समुदायका व्यक्तिहरुबाट साथ र सहयोगको अपेक्षा गर्दै खोप माथि कुनै शंका उपशंका तथा आशंका नगर्न वाग्लेले अनुरोध गरेका छन् । वाग्लेका अनुसार अहिले कर्णाली प्रदेशमा होम साइसोलेशनमा ६ जना मात्र कोरोनाका सक्रिय विरामी रहेका छन् ।

कार्यक्रममा क्षयरोग/कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले स्वागत गर्दै कोरोना महामारीका बारेमा जानकारी गराउनु भएको थियो ।