एमाले र माओवादीलाई निर्वाचन आयोगले भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू
काठमाडौं ।
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ ।
आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना ती दललाई दिने निर्णय गरेको छ ।
आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय पनि गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरुलाई पनि नयाँ नाममा १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ । आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल तिवारी अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भएको छ । स्रोत : अनलाइन खबर






