Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

अस्तित्व खोज्दै सुर्खेतका साहित्यकार

सुर्खेत ।
सुर्खेतमा आजदेखि कर्णाली उत्सव कुडा कर्णालीका संचालन हुँदैछ । उक्त कार्यक्रम फागुन २९ गतेसम्म संचालन हुनेछ । यही क्रममा आयोजकले २७ गते साँझ ४ः३० बजे गजल सन्ध्या कार्यक्रम राखेर सुर्खेतमा गजल वाचन गर्ने र २८ गते भने कवि नवराज पराजुलीसहित कविता साँझ गर्ने तयारी गरिरहेका छन् ।

कर्णाली उत्सवको यो दोस्रो संस्करणमा सुर्खेतका साहित्यकारहरुले आफ्नो अस्तित्व नै नरहने भन्दै उचित पारिश्रमिकको माग गर्दै गजल वाचन नगर्ने बताएका छन् । मध्यपश्चिमाञ्चल गजल मञ्च, सुर्खेत, कर्णाली साहित्य समाज, सुर्खेत, कर्णाली वाङ्मय प्रतिष्ठान, सुर्खेत, म.प. विश्वविद्यालय साहित्य समाज, सु्र्खेत, गजल रस कार्यक्रम, सुर्खेत,खसान साहित्य समाज, सुर्खेत र सिम्ताली एकता समाज, सर्खेतले संयक्त प्रेस विज्ञप्ति प्रकाशित गरी गजल वाचन कार्यक्रममा नजाने बताएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छः
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानमा आजदेखि कर्णाली उत्सवको दोस्रो संस्करण कुडा कर्णालीका कार्यक्रमको संचालन हुँदैछ । उक्त कार्यक्रमको सफलताको कामना गर्दछौ । उक्त कार्यक्रमको दोस्रो दिन साँझ ४ः३० बजेदेखि गजल सन्ध्या समेत हुने आयोजकले जानकारी गराएको छ । सुर्खेतमा हुने कार्यक्रममा गजल सन्ध्या जस्तो कार्यक्रम गर्नु आफैमा सुखद पक्ष हो । त्यसका लागि हामी तपसिलका साहित्यिक संस्थाहरु आयोजकलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।

कवि, साहित्यकार तथा गजलकार देशका अमुल्य सम्पति हुन् । साहित्यकारहरुलाई गरिने उपेक्षा हिजो पनि थियोे आज पनि छ । यसलाई हटाउन साहित्यकार, कवि, गजलकार एक हुनुको बिकल्प छैन । अबका दिनहरुमा पनि कवि, गजलकारहरुले फोकटमा रचना वाचन गरेर समय बर्बाद बनाउनु हुँदैन । साहित्यकारहरु मनोरञ्जनको साधन बन्नु पनि हँुदैन । उक्त कार्यक्रममा सुर्खेतका विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध र सरोकार राख्ने कुनैपनि कवि, गजलकारहरुले पारिश्रमिक विना उक्त कार्यक्रममा रचना वाचन नगर्न अनुरोध गर्दछौ ।

कुनै पनि विधामा लेख्ने सर्जकहरुको आफ्नै मूल्य र मान्यता छ । त्यो मूल्य र मान्यतालाई जिवन्त राख्नु साहित्यिक, गैरसाहित्यिक संस्था तथा व्यक्ति सबैको कर्तव्य र जिम्मेवारी हो । कर्णाली आफैमा नेपाली भाषाको उद्गमस्थल भएको ऐतिहासिक भूमि हो । पछिल्लो समयमा कर्णालीमा रहेका कवि तथा गजलकारहरुले देशकै प्रतिनिधित्व गर्ने कुरा सर्वविद्धितै छ । अतः उक्त कर्णाली उत्सवमा स्थानीय कवि तथा गजलकारहरुलाई निःशुल्क गजल वाचन गर्न लगाउने आयोजकको उद्देश्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यसैले उचित पारिश्रमिक विना हामी स्थानीय कवि, गजलकारहरुले उक्त कार्यक्रममा गजल वाचन नगर्ने कुरा यसै विज्ञप्ति मार्फत सम्पूर्ण कवि, गजलकार तथा साहित्यिक स्रष्टाहरुलाई जानकारी गराउन चाहान्छौ । साथै आउँदा दिनहरुमा गैरसाहित्यिक संस्थाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कुनै पनि साहित्यकारहरुले निःशुल्क रचना वाचन नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।