कर्णालीकै ठूलो पुरस्कार ‘मोहपथ’ लाई
सुर्खेत ।
कर्णाली साहित्य समाज वीरेन्द्रनगर सुर्खेतले स्थापना गरेको कर्णालीकै ठूलो धनराशीको पुरस्कार ललित विष्टको कथाकृति मोहपथलाई प्रदान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा एक विशेष कार्यक्रमको आयोजना गरेर मोहपथका लेखक ललित विष्टलाई कर्णाली साहित्य समाज कृति पुरस्कार नगद रु ५० हजार राशीको पुरस्कार प्रदान गरिएको हो । यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान अर्पण गरिएको छ । ताम्रपत्रसहितको यो सम्मान जोशीले नेपाली भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रदान गरिएको कर्णाली साहित्य समाजले जनाएको छ । नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लोकसाधक प्रेमदेव गिरीलाई नगद रु २५ हजारसहितको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीप्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने जनाउनुभएको छ ।
कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली । यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सह्रानीय छ ।’ यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाउनु भयो । यसको निरन्तरताले नयाँ पुस्तालाई उर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविश्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उहाँको भनाई थियो ।

कार्यक्रममा सम्मानीत स्रष्टाहरुलाई बधाई दिँदै संस्थाका संस्थापक संरक्षक वरिष्ठ कथाकार महेशविक्रम शाहले भन्नुभयो, ‘कर्णालीकै ठूलो र पहिलो पुरस्कारको रुपमा कर्णाली साहित्य समाजले सुरुवात गरेको कार्यले नेपालमा कर्णालीलाई चिनाउन सहयोग पुग्ने विश्वास गर्दछु ।’ सबै कुरामा सरकारको मुख ताक्नु भन्दा पनि सबैले आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामलाई गर्दै अगाडि बढेमा मात्र समृद्धिमा पुग्न सकिने उहाँको भनाई थियो ।
समारोहमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले भाषा साहित्यका क्षेत्रमा अध्ययन, खोज र अनुसन्धानका लागि गर्नुपर्ने काम गर्ने बताउँदै सभ्यताको विकास गर्नका लागि भाषा र साहित्यको विकास महत्वपूर्ण रहेको बताउनु भयो ।
नेपाली भाषाको उद्गमस्थल जुम्ला र साहित्य र सभ्यताको सुरुवात शिंजाबाट भएकोले कर्णालीले भाषा साहित्यको जगेर्नामा प्राथमिकता दिन आवश्यक रहेको बताउँदै संस्थाका सल्लाहकार डा. दीपेन्द्र रोकायाले भन्नुभयो, ‘कर्णाली साहित्य समाजले नागरिक स्तरबाट जुन कार्यको थालनी र निरन्तरता दिएको छ त्यसले सिंगो कर्णालीवासीले गर्व गर्नुपर्दछ ।’
पुरस्कृत स्रष्टा वरिष्ठ कलाकार प्रेमदेव गिरीले भन्नुभयो, ‘कर्णालीमा भएका लोक साहित्य र कलाको माध्यमले पनि नेपाललाई चिनाएकोले सरोकारवाला सबैले भाषा साहित्यको संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्छ ।’ आफ्नो कृति मोहपथले कृति पुरस्कार प्राप्त गरेकोमा आफ्नो लेखन समाजका लागि भएको महसुस गरेको स्रष्टा ललित विष्टले बताउनु भयो ।
गतवर्ष कर्णाली साहित्य समाज साधना सम्मान कवि श्यामललाई प्रदान गरिएको थियो भने कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार आख्यानकार एवम् कवि बुद्धिसागरलाई प्रदान गरिएको थियो । यसैगरी कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथा कृति मरीचिकालाई प्रदान गरिएको थियो ।
मासिक रुपमा अन्तरक्रिया गर्ने घोषणा
कर्णाली साहित्य समाजले अब मासिक रुपमा कला साहित्यका विषयमा विशेष कार्यक्रम समेत गर्ने भएको छ । पुरस्कार तथा सम्मान अर्पण समारोहमा समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले प्रत्येक महिनाको अन्तिम शनिबार कर्णालीको राजधानी सुर्खेतमा यै मैनाका बडामाण्ठ (यो महिनाको ठूला मान्छे) नामक कार्यक्रम संचालन गर्ने घोषणा गर्नुभयो । सफल साहित्यकारहरुले गरेको संघर्षलाई अन्तरक्रियाका माध्यमबाट बाहिर ल्याउँदा नवस्रर्जकहरु समेत प्रेरणा हुने र अग्रजहरुलाई सम्मान हुने भएकाले पनि मासिक रुपमा कार्यक्रम गर्ने योजना ल्याएको अधिकारीको भनाई थियो ।
पुरस्कार तथा सम्मान अर्पणमा समारोहमा जागेश्वर नेपालले छन्दकविता, भरत प्रमोद दाहालले गजल र घनश्याम नारा ऋतुले मुक्तक वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवकी तिमल्सिना ‘समीक्षा’ ले शब्द स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सरस्वती पन्तले गर्नुभएको थियो ।













