Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

पारा ब्याडमिन्टनका एक्ला खेलाडी सुर्खेतका प्रकाश, नेपालले अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिँदै

सुर्खेत ।
दुवईमा सञ्चालन हुन लागेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ मा नेपालले पनि सहभागिता जनाउने भएको छ ।


सुर्खेत विरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उनी नेपालका पारा ब्याडमिन्टन खेल्ने एक्ला खेलाडि हुन् । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ । उनी फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनलमा सहभागिता जनाउन आज (शनिबार) राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनलाई नेपाल ब्याडमिन्टन संघ तथा ब्याडमिन्टन एसियाका पारा ब्याडमिन्टनका समेत अध्यक्ष रहेका रामजी बहादुर श्रेष्ठ, राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ, संघका पदाधिकारी, ब्याडमिन्टनका चिफ कोच सुदिप योन्जन र वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल लगायतले बिदाई गरे ।


खेलाडी प्रकाशलाई बिदाई गर्दै संघका अध्यक्ष श्रेष्ठले पारमा ब्याडमिन्टनमा यो प्रकाशको मात्रै नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय सहभागिता रहेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो सहभागिता रहेपनि अधिकारीको खेलको स्तर अनुसार नेपालको पदकको अपेक्षा रहेको बताए ।

पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको खेलाडि प्रकाशले बताए । शारिरीक रुपमा अशक्त भएपनि खेलको माध्यमबाट नेपाल चिनाउने योजना रहेको बताउँदै प्रकाशले भने, ‘खेल क्षेत्रमा लाग्नेहरुका लागि सरकारीस्तरबाट हुनुपर्ने जति सहयोग हुन सकेको छैन ।’ आफूले खेल्नकै लागि स्थानीयदेखि प्रदेश सरकारको ढोका निक्कै ढक्ढकाएपनि कतैबाट सहयोग नपाएको उनको गुनासो छ । तर पनि नेपाल ब्याडमिन्टन संघले अन्तर्राष्ट्रिय खेलका लागि आफूलाई त्यहाँ पुग्ने वातावरण सिर्जना गरेकोमा निकै खुसी लागेको र त्यही खुसीले पदक हात पार्नका आफूले सक्दो प्रतिभा प्रर्दशन गर्ने उनको भनाई छ ।

सरकारीस्तरबाट सहयोग नपाएपनि घर परिवारबाट भने पूरा सपोर्ट भएका कारण आफू यो स्तरमा पुगेको बताउँछन् प्रकाश । छोराले खेल क्षेत्रमा प्रगति गर्न सकोस् भन्ने आमाबुबाको चाहाना र आफूले खेल क्षेत्रबाटै देशको नाम राख्ने योजनाका अघि बढेको उनको भनाई छ । कानून संकाय अध्ययनरत उनले जिल्ला तथा प्रदेश र राष्ट्रियस्तरमा समेत ब्याडमिन्टन खेलिसकेका छन् ।