Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

अन्यौलको राजनीति र तनावग्रस्त नेपाली

यतिबेला देशको राजनीति अन्यौलमा छ भने नेपाली जनता तनावग्रस्त छन् । एकातिर राजनीतिक अस्थिरताले हैरान पारेको छ भने अर्कोतिर विश्वमा फैलिएको कोरोनाका कारण मानव समुदायमा तनावमा छ । गतवर्ष भएको लकडाउनका कारण व्यापार व्यासाय ठप्प भएपछि व्यहोर्नु परेको घाटाले सेकिएको ढाडमा विस्तार मल्हम लाग्दै गरेको अवस्थामा फेरी छिमेकी देशहरुमा भयानक रुपमा कोरोनाको लहर फैलिरहेको छ । त्यसको साथसाथै नेपालमा पनि यसको संक्रमण दरमा बृद्धि हुनुले फेरी लकडाउन हुने हो कि भन्ने पिर एकातिर छ भने अर्कोतिर राजनीतिक नेताहरुले देखाएको सत्ता स्वार्थको भूमरीले पनि त्यत्तिकै घुमाइरहेको छ ।

बलिराज रोकाया

विहानको छाक जसोतसो टारेर दिनभरको ज्याला मजदुरीले कमाएको गासले छोराछोरीको भोक मेटाउनेहरुलाई लकडाउन हुन्छ कि भन्ने चिन्ता छ । तर लकडाउनको नाममा करोडौ कुम्ल्याउनेहरु लकडाउनको पक्षमा होलान् । यदि त्यसो नहुँदो त उनीहरुबाटै किन स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभएको हो भन्ने कुराले पनि अर्थ राख्छ ।

झण्डै दुइ तिहाइको नजिकमा पुगेको नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकाएक ध्वस्त पारेर नेताहरुले आफ्नो र आफ्नाहरुको स्वार्थको लागि काम गर्न थालेकोले अवको राजनीतिक दिशा के हुने भन्ने खुद राजनीति गर्नेहरुलाई नै थाह छैन । एकातिर प्रदेश सरकारहरु अन्यौलमा परेका छन् भने अर्कोतिर संघीय सरकार नै अन्यौलग्रस्त छ । जनताको बहुमत लिएर निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभाका सदस्यहरुले त्यो मतको समेत अपमान गरेर राजनीतिक दल परिवर्तन गरेका छन् । त्यो के का लागि ? भन्ने प्रश्न दरो रुपमा खडा भएर उभिएको छ ।

उनीहरुले जनताको भलाई र देशको विकासका लागि त्यसो गरेका हुन् भने मन्त्री तथा अन्य पदहरुमा टाँसिनु पुग्नु व्यक्तिगत स्वार्थ भन्दा अरु होइन भन्ने कुरा प्रमाणित हुन्छ । होइन भने उनीहरुले आफूलाई मत दिने जनताको मत माथि हात मारेर के सन्देश दिन खोजिरहेका हुन् । यो प्रश्नको उत्तर जनताले अवस्य एक दिन माग्नेछन् र नेताहरुले दिनै पर्नेछ ।

वर्तमान अवस्थामा संघीय सरकार नै धरमराइरहेको छ । यसमा माओवादीका नेताहरुको पनि द्वैध चरित्र देखिएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन नसक्नु र अन्य राजनीतिक दलसँग पनि मिलेमतो गरेर सरकार गठनको प्रक्रियामा अगाडि बढेर जान नसक्नु । न माओवादीले सरकार माथिको समर्थन फिर्ता लिन सकेको छ । न त सरकार माथि अविश्वास प्रस्ताव नै ल्याउन सकेको छ । जसले गर्दा केपी ओलीको नेतृत्वमा भएको सरकार एक पछि अर्को निर्णय गर्दै अगाडि बढिरहेको छ । त्यो उसको अधिकार क्षेत्र भित्र पर्ने भएकोले पनि त्यसलाई स्वभाविक रुपमा लिनु पर्छ । आफूहरुले केही गर्न नसक्ने र अर्कोलाई पनि गर्न नदिने हो भने देशको शासन व्यवस्था कसरी संचालन हुन्छ ? नेपालमा बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना भइसकेपछि लामो समयसम्म सत्ताशीन भएको नेपाली काँग्रेसले समेत निर्णायक भूमिका निर्वाह गर्न सकिरहेको छैन । कसले सत्ताको ललिपप देला र खाउला भनेर मुख मिठ्उयाँदै गरेको काँग्रेसले आफ्नो अडानमा अडिग भएर बस्नुको साटो आफ्नै पार्टीको गुट र उपगुटमा अल्झेर देउवालाई पौडेलले र पौडेललाई देउवाले दोषारोपण गर्दै मञ्चमै लज्जास्पद क्रियाकलाप गर्नुले उनीहरुको चरित्र नै उदाङ्गो भइरहेको छ ।

अबको पाँच महिना पछि हुन थालेको काँग्रेसको चौधौ महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा आन्तरिक कहलमा लागेर नेपाली जनताको राजनीतिक अधिकारलाई बन्दी बनाउने दोष काँग्रेसले पनि लिनु पर्दछ । संसदको प्रतिपक्ष दलको हैसियतले निर्वाह गर्नुपर्ने भूमिकाबाट काँग्रेस विमुख जस्तै भएको छ । यसको मतलब काँग्रेसको नेतृत्व तहपनि वर्तमान नेपाली राजनीतिमा समक्षतापूर्वक भूमिका निर्वाह गर्न सक्षम छैन भन्ने हो ।

मधेशमा सयौको प्राणको आहुति दिएर अस्तित्वमा पुगेको वर्तमान जसपालो पनि आफ्नो गौण क्रियाकलापले नेपाली राजनीतिमा धोका दिएको छ । हिजोका दिनमा मधेशका लागि राजनीति गरेको भन्दै फुँई लगाउनेहरुले अहिले मधेशी जनताका लागि के गर्न सके भन्ने मुख्य प्रश्न हो । मधेश पनि नेपाल हो । मधेशमा बस्नेहरु पनि नेपाली हुन् । तर मधेशवादी नेताहरुले केवल मधेशका लागि भन्दै उठाउने मुद्दाहरुले उनीहरुको पार्टी केवल मधेशमा मात्र केन्द्रित हुनु पर्ने अवस्थामा पुगेको छ । हिजो रामवरण यादवलाई देशको राष्ट्रपति बनाउन मिल्ने अहिले मधेशी नेताहरुलाई देशको प्रधानमन्त्री बनाउने कुरा उठ्नसाथ हाँसोको पात्र बनाउनु पर्ने अवस्था पक्कै पनि सुखद पक्षमा छैन भन्ने कुरालाई देशका ठूला राजनीतिक दल भन्नेहरुले सोच्ने बेला आइरहेको छ । केवल केपी ओलीको नेतृत्वको सरकारलाई परिवर्तनलाई गर्नका लागि मात्र मधेशी दललाई सरकारको नेतृत्व दिने खेल खेलिएको हो भने यो घृणित छ । तर ओलीले प्रतिनिधि सभा नै विघटन गरे उनको नेतृत्वमा सरकारले देश विकासका लागि र जनताका हितका लागि काम गर्न सक्दैन भन्ने लाग्दछ भने सबै एकजुट हुन आवश्यक छ ।

केपी ओलीले काम गर्न नखोजेका होइनन् । तर उनका वरिपरी आसे पासेको रुपमा रहेकाहरुले काम गर्न दिएनन् वा उनले गरेका कार्यहरु पनि जनता समक्ष पुग्न सकेनन् भन्ने कुरालाई मनन् गर्न जरुरी छ । अझ स्पष्ट शब्दमा भन्ने हो भने जसले केपीलाई आफ्नो बनाए उनीहरुको कारणले पनि हुनुपर्ने जत्ति काम हुन सकेन । प्रधानमन्त्री भइसकेपछि साझा हुन सक्नुपथ्यो । तर केपीले पनि केवल आफ्ना नजिककालाई मात्र जनता देखेका कारण पनि उनी सबै जनताका साझा हुन सकेनन् ।

पुरानो वर्षहरु हामीहरु माझ भरखरै विदा भएर गएको छ । अब नयाँ वर्षले हामीलाई नयाँ उमंग र नयाँ कार्यको थालनी गर्ने प्रेरणा बोकेर आएको छ । त्यसैले एकातिर राजनीतिक दलहरु सच्चिएर अगाडि बढ्नु पर्छ र नेपाली जनताको स्वाभिमान र सार्वभौमसत्ता माथिको खेलवाड बन्द गर्नुपर्छ । अर्कोतिर प्रत्येक नागरिकहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर कोरोना जस्तो महामारीको फैलावटलाई रोक्नु पर्छ । अनि मात्र नेपाली जनताले सास्ती भोग्नु पर्ने छैन । होइन भने नेताहरुको चरित्र र जनताको अनियन्त्रित गतिविधिले एकातिर राजनीति र अर्कोतिर कोरोनाले फेरी थिलथिलो पार्न सक्छ । अन्तमा, नयाँ वर्षले सम्पूर्ण नेपालीहरुलाई सद्बुद्धि देओस् । मंगलमय शुभकामना ।