Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

बालबालिका राहतका लागि गुराँसमा टोल फ्रि नम्बर

दैलेख ।
जोखिममा रहेका बालबालिकाहरुलाई राहत, पुनस्थापना तथा सहयोगका लागि दैलेखको गुराँस गाउँपालिकाले पैसा नलाग्ने टोल फ्रि नम्बर स्थापना गरेको छ । स्थानीय तहमा गुनासो सुनुवाई कार्यविधि २०७७ बमोजिम पालिकामा टोल फ्रि नम्बर स्थापना गरिएको हो ।


बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकारले गुनासो सुनुवाई कार्यविध स्विकृत गरेपछि टोलफ्रि नम्बरको व्यवस्था गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । जोखिममा परेका बालबालिको आपत्कालीन उद्धार, राहत, उपचार, परामर्श लगाएत सामाजिक तथा संस्थागत पुनस्र्थापना गर्न टोल फ्रि नम्बर आवश्यक भएकाले स्थापना गरिएको ओलीको भनाई थियो । बालअधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको भएको बताउदै ओलीले भने जोखिममा परेका बालबालिकाको उद्धार, राहत र पुनस्र्थापना लगाएतका कार्यहरु पालिकाले सञ्चालन गर्दै आएको छ ।

आकस्मिक उद्धार र संरक्षण, बालबालिकाको सर्वाेत्तम हित, विभेद रहिता र गोपनियताका सवालमा पालिकाले महत्वपूर्ण जिम्मेवारी लिएको अध्यक्ष ओलीको भनाई थियो । टोलफ्रि नम्बरले पालिकाको सुशासन र नागरिकप्रतिको जिम्मेवारीबोध गराउन सहयोग गर्ने छ । पालिकासँग सम्बन्धित सेवाग्राहीका गुनासा, जिज्ञासा र असन्तुष्टिहरु नागरिकले राख्न सक्ने उनले बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रवेश गर्ने मुख्य नाका गुराँस गाउँपालिका भएकाले यहाँ हुने सबै प्रकारका गैह््र गतिविधिहरुको नियन्त्रण तथा सूचना सम्प्रेषणमा पनि सहयोग पुग्ने उनको भनाई थियो । पालिकाको टोल फ्रि नम्बर १६६०८९११००० र ९८५८०३५१४४ मा बालबालिका लगाएत अन्य सेवा सँग सम्बन्धित गुनासा तथा जिज्ञासाहरु राख्न अध्यक्ष ओलीले सबैलाई आग्रह गरेका छन् ।

टोलफ्रि नम्बरमा आएका गुनासाहरुलाई गुनासो सुनुवाई समितिमा छलफल गरिन्छ । गुनासाको प्रकृतिहेरी तत्काल समाधान गर्न पहल गरिने उनको भनाई थियो । नीतिगत र सेवा सँग सम्बन्धित गुनासाहरुलाई कार्यपालिकाको बैठकमा पनि छलफल गर्न सकिने उनले बताए ।

जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल राहत तथा पुनस्र्थापना गर्न टोलफ्रि नंम्बरले सहयोग गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । स्थानीय सरकारले गरेको यो सुशासनको अभ्यास पनि हो । नागरिकका असन्तुष्टिहरुलाई तत्काल सम्बोधन गरे सरकारप्रति नागरिकका असुन्तुष्टिहरु घट्दै जानुका साथै पारदर्शिता र जवाफदेहीताको प्रत्याभूति हुन्छ । बालबालिकाका आधारभूत आवश्यकता पुरा गर्न र बालबालिकाप्रति हुने सबै प्रकारका हिंसा न्यूनिकरण गर्न निशुल्क टोल फ्रि नम्बरले सहयोग गर्ने अधिकारीको भनाई थियो ।