Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारलाई पत्रकार महासंघको आग्रह

काठमाडौं ।

नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका हुन्।

अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरसहित ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको प्रति दु:ख व्यक्त गरे ।

राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन नसकी मृत्युवरण गर्नु परेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

एकातिर महामारीको संकट र अर्कोतिर देशका धेरै ठाउँमा घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकहरू समस्यामा परेको भन्दै यस्ता वर्गलाई राज्यले कुनैपनि राहतका कार्यक्रम ल्याउन नसकेको प्रति महासंघले दु:ख व्यक्त गरेको छ ।

अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत् यो विपद्को घडीमा आफ्नो क्षेत्रबाट कलम चलाउने पत्रकारहरूले पनि आचारसंहितालाई मध्यनजर गर्दै मानव जीवनको रक्षाका लागि पत्रकारिताका माध्यमबाट योगदान पुराउनेतर्फ अझ सशक्त भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

पोखरेलले पत्रकारहरूलाई नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन एवं आत्मबल बढाउन मद्दत गर्दै बेथिति र बद्नियतको उजागर गरेर राज्यलाई जिम्मेवार बनाउन समेत भूमिका खेल्न आह्वान गरेका छन् । अनलाइनखबर