Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

नयाँ पार्टी दर्ताको तयारीमा नेपाल समूह

नयाँ पार्टीको नाम नेकपा जोडेर ‘समाजवादी’ वा ‘क्रान्तिकारी’ राख्नेमा बहस

काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि प्रक्रिया थालेको छ । एमालेको स्थायी कमिटी बैठकले नेपाल, झलनाथ खनाललगायत ११ जनालाई कारबाही गरेपछि नयाँ दल दर्ताको प्रक्रिया थालेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाल, खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने र थप १२ जना सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

लामो समय पार्टीको नेतृत्वमा रहेका र प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णयपछि सँगै बस्न सकिने अवस्था नभएको नेपाल पक्षीय नेताहरू बताउँछन् । पार्टी निर्माणमा ठूलो योगदान गरेका व्यक्तिहरूलाई कारबाही गर्ने बहानामा आफ्नो गुट बलियो बनाउँदै लगेका ओलीसँग बस्न सक्ने अवस्था नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ ।

नेपाल पक्षका नेता जीवनराम श्रेष्ठ प्रधानमन्त्री ओलीको कार्यशैली सच्चिनुको सट्टा असंवैधानिक काम गर्न थालेपछि एकताको प्रयास अन्त्य भएको बताउनुहुन्छ ।

पार्टी एकताका लागि अन्तिम समयसम्म पनि इमानदार भएर प्रयास गरिए पनि ओलीले पाँच महिनाको अवधिमा दोस्रो पटक संसद् विघटन गरेपछि एकताको प्रयास पनि अन्त्य भएको उहाँको भनाइ छ ।

एकताका लागि कार्यदल बनाएर सकारात्मक सन्देश दिए पनि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर असंवैधानिक कदम चालेपछि एकताको सम्भावना टरेको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । ‘ओलीजीले अप्रत्यासित रूपमा असंवैधानिक काम गर्नुभयो । पाँच महिनामा दुई पटक संसद् विघटन भयो । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद् विघटन गर्ने काम भयो । संविधानअनुसार नयाँ सरकार गठनका लागि दाबी परेको र बहुमतको समर्थन भएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त नगरी राजनीतिलाई अस्थिरतातर्फ लैजाने काम भयो । योसँगै एकताको प्रयास पनि अन्त्य भएको छ’, उहाँले भन्नुभयो ।

ओलीको कार्यशैली परिवर्तन नभएको र जनताप्रतिको जवाफदेहिता पनि नदेखिएका कारण अब एकठाउँमा बस्न सकिने अवस्था नभएको श्रेष्ठको भनाइ छ । पटक–पटक पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्रीसमेत हुनुभएका व्यक्तित्वहरू र एकताका लागि योगदान गरेका नेताहरूलाई समेत साधारण सदस्य नरहने गरी कारबाही गरेपछि ओलीले नै विभाजनको सुरुवात गरेको श्रेष्ठको आरोप छ । अहिले आफूहरू छलफलमा रहेको उल्लेख गर्नुहुँदै उहाँले छलफलबाट आएको निष्कर्षअुनसार अगाडि बढ्ने बताउनुभयो ।

अर्का नेता मेटमणि चौधरी नयाँ पार्टी निर्माण र दर्ता छिट्टै हुने बताउनुहुन्छ । अहिले पार्टीको नामका विषयमा छलफल जारी रहेको र टुंगो लाग्नेबित्तिकै दर्ता प्रक्रियामा जाने उहाँले बताउनुभयो । उहाँले पार्टी निर्माणपछि विचार मिल्नेहरूसँग पार्टी एकता र निर्वाचनमा सहकार्य गर्न चाहने शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी त बन्ने नै भयो । पार्टीको सबै के–के गर्नुपर्ने हो सबै गर्दैछौँ । देशभरि नै पार्टी निर्माणको काम हुन्छ । त्यसपछि निर्वाचनको बेला मिल्न सक्ने जतिसँग पार्टी एकता हुन्छ । चुनावी एकता गर्न सक्ने सबैसँग चुनावी एकता गर्र्छौँ । ओलीको पार्टी कोल्याप्स हुने ठाउँमा पु¥याउँछौँ ।’

अहिले केन्द्रीय समितिमा रहन सक्नेहरूको नाम संकलन गर्ने काम भइरहेको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । केन्द्रीय समिति निर्माण भएपछि प्रदेश कमिटीको काम सकिने र सूची तयार हुँदासम्म पार्टीको नाम पनि टुंगो लाग्ने उहाँले बताउनुभयो । अहिले नामका विषयमा छलफल जारी रहेको पनि उहाँले बताउनुभयो । नयाँ पार्टीको नाम के राख्ने भन्ने टुंगो नभए पनि नेकपा र एकीकृत शब्द नछुटाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेकपा छोड्दैनौँ । पछाडि क्रान्तिकारी राख्ने हो भने त्यो शब्द नै बदनाम भइसकेको छ । समाजवादी राख्ने हो भने एक खालको कम्युनिष्ट पार्टी रहन्न कि भन्ने बहस भइरहेको छ । नेकपा र एकीकृत भन्ने शब्द जोडेर समाजवादी राख्ने कि क्रान्तिकारी राख्ने भन्ने छलफल जारी रहेको छ ।’ नाम टुंगोमा पुगेपछि छिट्टै दर्ताका लागि काम अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

विभाजन हुन नदिने प्रयास अझै पनि छ : पाण्डे

अर्का नेता सुरेन्द्र पाण्डे भने आन्तरिक र बाह्य शक्तिका कारण विभाजनको संघारमा पार्टी पुगेकाले त्यसलाई असफल पार्न प्रयास जारी रहेको बताउनुहुन्छ । आफ्नो तहबाट प्रयास जारी राखेको उल्लेख गर्दै उहाँले धेरै बिग्रिसके पनि प्रयास कायमै राख्दा कहिलेकाहीँ सकारात्मक परिणाम पनि आउन सक्ने बताउनुहुन्छ ।

एकताको झिनो आशा अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अझै म सानोतिनो चुकुल बाँकी छ कि भनेर मिलाउने प्रयासमै छु । एमाले जोगाउने सबै कार्यकर्ताहरूको कर्तव्य हो ।’

तत्कालीन समयमा नेकपा माओवादीसँगको एकतापछि आन्तरिक विवाद रहे पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि विवाद चर्किएको थियो । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहले ओलीलाई कारबाहीसमेत गरेका थिए । गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नेपाल समूह संकटमा पर्दै आएको थियो । ओलीले एकलौटी निर्णय गरिरहेको भन्दै असन्तुष्ट रहेको नेपाल समूह विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलनमा लागेपछि कारबाहीमा परेका हुन् ।