Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

जनता जोगाऔं

विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा प्रायः दैनिक ७ हजार भन्दा बढि संक्रमित भइरहेका छन् । कोरोना सक्रमणलाई फैलिन नदिनका लागि भन्दै देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भइरहेका छन् । यस्तो अवस्थामा जनता ज्यान जोगाउन सकिन्छ सकिँदैन भन्ने चिन्तामा परेका छन् । एकातिर खोप लगाउनै नपाएकाहरु र अकोतिर खोप लगाएकाहरु पनि संक्रमित भइरहेको अवस्थामा कोरोनाले त्रसित बनाएको छ भने देशका राजनीतिक कारणले देशमा कार्तिक र मंसिरमा गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । राजनीतिक किचलोका कारण पटक पटक प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनमा जाने निर्णयले जनताको स्वास्थ्य प्रति भन्दा पनि राजनीतिक पद र प्रतिष्ठा प्रति नेताहरुको चिन्ता र चासो बढेको स्पष्ट हुन्छ ।

यस्तो विषम परिस्थितिमा सबैभन्दा पहिले जनताको स्वास्थ्य सुरक्षाको चिन्ता गर्नु आवश्यक छ । कोभिडको संक्रमणलाई फैलिन नदिनका लागि भौतिक दुरी कायम गर्नु र अनावश्यक रुपमा हिडडुल नगर्नु नै उत्तम उपाय भएको अवस्थामा यदि नेपालमा निर्वाचन भयो भने त्यसका तयारीका लागि हुने विभिन्न राजनीतिक दलका आमसभा तथा कार्यक्रमहरुमा भौतिक दुरी कायम हुने भन्ने आश पनि गर्नु
हुँदैन । जसले गर्दा मानिसहरु एक आपसमा घुलमिल हुने भएकोले त्यसबाट कोरोना संक्रमणको दरमा बृद्धि हुने भएकाले यसले निकै डरलाग्दो स्थितिको अवस्था आउन सक्छ ।

यो जटिल परिस्थितिमा सरकार संचालन गर्नेहरुले जनस्वास्थ्यको बारेमा सोच्न आवश्यक छ । जनता नै जोगाउन नसक्ने हो भने राजनीति कसका लागि र के का लागि भन्ने प्रश्न उठ्ने नै भयो । सत्तापक्षदेखि प्रतिपक्षले समेत जनताको स्वास्थ्यको बारेमा चिन्ता गर्नुपर्नेमा प्रतिपक्ष सत्ता प्राप्तिका लागि मात्र निर्वाचनबाट भाग्न खोजिरहेका छन् भने सत्तापक्ष भने प्रतिपक्षहरुलाई बाटो छेक्नका लागि मात्र निर्वाचनको नाटक मञ्चन गरिरहेको छ । जनताका लागि अक्सिजनदेखि आवश्यक आइसियू, भेन्टिलेटर तथा अस्पतालमा बेडसमेतको अभाव भइरहेको बेलामा अर्बौ रकम सिध्याउने निर्वाचन गर्न सक्छु भन्ने सरकारले जनता बचाउनका लागि पहिलो कदम चाल्न आवश्यक छ । खोप खरिद प्रक्रियादेखि त्यसको प्रयोगमा समेत जनशक्तिको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । पहिले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर जनता जोगाऔं अनि निर्वाचन गरौला कि ?