Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

नेपाल बहुल राष्ट्रिय राज्य नै हो : उपप्रधानमन्त्री महतो

काठमाडौं ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

 शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताउनुभएको हो । बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो ।

नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होईन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँजहाँ कमी कमजोरी छ । जहाँजहाँ विभेद छ । जहाँजहाँ एकल जातिय राज्य सञ्चालन गर्ने, एकल जातिय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

उहाँले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताउनुभयो । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उहाँले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताउनुभयो ।