राउटे युवतीलाई दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग
सुर्खेत ।
यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायतका जिल्लाहरुमा स्वस्फूर्त रुपमा राउटे युवतीलाई दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग भइरहेको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले राउटे युवतीलाई दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरिरहेका छन् ।

जंगलमा फिरन्ते जीवन विताउदै आएका लोपन्मुख राउटे समुदायका युवतीसँग दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ । राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल संञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’
यसैगरी महिला अधिकारकर्मीदेखि सर्वसाधारण समेतले दोषिलाई कारवाही गर्न माग गरिरहेका छन् । दोषिलाई कारवाहीको माग गर्दै कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले यो विषयलाइ सदनमा समेत उठाउने बताउनु भएको छ । कर्णाली स्वयम् सेवक दलले पनि विभिन्न नाराहरु लेखिएको कार्डसहित भौतिक दुरी कायम गरी मौन विरोधको सूरुवात गरेको छ ।







