Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

संस्कृत विद्यालयको अंग्रेजी मोह

सुर्खेत ।

नेपाली व्याकरणको जग होस् या नेपाली भाषा साहित्यको खम्बा होस् । सबैभन्दा पूरानो भाषा संस्कृत नै भएपनि अहिले नेपालका अधिकांश विद्यालयहरुमा संस्कृत पढाइ भने हुँदैन । जसका कारण संस्कृत भाषा सिक्न चाहनेहरुका लागि पनि निकै कठिन हुने गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्वत् २०१५ साल बैशाख २२ गते स्थापना भएको विद्यालय हो श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम ।

यो विद्यालयको नाम सुन्दैपनि यो विद्यालयमा संस्कृत पढाई हुन्छ होला भन्ने धेरैलाई लाग्छ तर आन्तरिकमा भने यो विद्यालयमा संस्कृत पढाई नै हुँदैन । त्यसको साटो बरु अंग्रेजी पढाई हुन्छ । अंग्रेजी पनि भाषा हो । कुनैपनि भाषाको पढाई हुनु नराम्रो होइन तर नाममा संस्कृत राखेर संस्कृत नै नपढाउनुले सिंगो विद्यालय परिवारलगायत सरोकारवालाहरुलाई भने गिज्याउने गरेको छ ।

सुरुमा १—५ कक्षा सञ्चालन भएपनि निम्न माध्यमिक हुँदै २०४३ सालमा संस्कृत माध्यमिक विद्यालयका रुपमा र २०४७ मा साधारण कार्यक्रम समावेश गरी सञ्चालन हुँदै आएको हो । वि.सं. २०६२ सालदेखि कक्षा ११÷१२ शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएकोमा २०६६ समम्म आइपुग्दा उच्च मावि तहमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायसमेत सञ्चालन गरिएको छ । २०७४ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिमा १८ महिने सिभिल सबओभरसियर कार्यक्रम र २०७६ देखि ३ वर्षे सिभिल डिप्लोमा कार्यक्रम संचालन भइरहेको उक्त विद्यालयमा नाम जस्तै संस्कृत पढाउने तर्फ भने कसैको ध्यान जान सकेको छैन ।

उक्त विद्यालयमा कक्षा ६ देखि १२ सम्म प्रत्येक कक्षामा कम्तिमा एक एक ओटा अंग्रेजी माध्यमका कक्षा सञ्चान गरिएको र कक्षा ९ र १० मा दुई दुई ओटा सेक्सन सञ्चालन गर्ने गरिएको छ ।

यस सम्बन्धमा उक्त विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेसँग जिज्ञासा राख्दा उहाँको भनाई भने फरक छ । उहाँ भन्नुहुन्छ, विद्यार्थी र अभिभावकहरुको चासो नै संस्कृतमा कम भएकाले पनि त्यसो हुन गएको हो । तर विद्यार्थीहरुले चासो देखाएमा हामी संस्कृत पढाउन तयार छौ ।’ संस्कृत पढ्नका लागि विद्यार्थी नै जागरुक नभएको उनको भनाई छ । स्थानीय सरकारसँग अनुरुोध गरेर पनि हामीले संस्कृत पढाउन खोजेका हौ तर १० जना विद्यार्थी पनि नहुने भएपछि समस्या भएको हो । घिमिरेले भन्नुभयो, ‘अझैँ पनि हामीले हार खाएका छैनौ कर्णालीको एक मात्र संस्कृत विद्यालयमा संस्कृत अध्यापन गर्नुपर्छ भन्ने मान्यता छ ।’

यता अभिभावकहरु भने विद्यालयले संस्कृत शिक्षामा जोड नदिएको आरोप लगाउँछन् । विज्ञान तथा मानविकीका लागि विज्ञापन गरेर विद्यार्थी माग्नेहरुले संस्कृतका लागि विज्ञापन नै नगर्नु भनेको संस्कृत भाषा शिक्षालाई उपेक्षा गर्नु भएको एक अभिभावकले बताउनु भयो । कर्णाली प्रदेशका केही स्थानमा गुरुकूलहरु संचालन भइरहेका छन् । गूरुकूलहरुले उत्पादन गरेका विद्यार्थीहरु यस प्रदेशमा संस्कृतको पढाइ हुने विदालय नभएका कारण दाङ, प्यूठान, देवघाट तथा पहुँच हुनेहरु काठमाडौंमा पुग्ने गरेका छन् । अनौपचारिक रुपमा संस्कृत अध्ययन गर्न चाहनेहरु पनि छन् तर तिनीहरुका लागि पनि प्रदेश सरकारले समेत कुनै व्यवस्थापन गर्न सकेको छैन । अन्य भाषाहरुको कक्षा संचालनका लागि विभिन्न संघ संस्थाहरुलाई बजेटको व्यवस्थापन गर्ने प्रदेश सरकारले संस्कृत अध्ययन गर्ने गराउने तर्फ कुनै चासो नदिएको बतानुहुन्छ नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारी ।