Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

नयनराज पाण्डेको ‘जियरा’ सार्वजनिक

काठमाडौं ।

निषेधाज्ञाको कारण कुनै कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो। यस सङ्ग्रहमा १३ वटा लामा कथा समावेश छन्।

“जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,” लेखक पाण्डेले भने, “यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ।”

एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक, बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले ‘जियरा’लाई बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको लेखक पाण्डेले बताएका छन्। ‘जियरा’का कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ।

प्रकाशक फाइनप्रिन्टका अनुसार, मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्रह ‘जियरा’मा लेखकले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन्। त्यस्तै, लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन्।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए। उनी भन्छन्, “मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ।”

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ। हिमालखबर