Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कर्णालीमा बजेट माथिको छलफल अन्यौलमा

सुर्खेत ।
संविधान अनुसार आउनु पर्ने प्रदेश सभाको बजेट असार १ गते नै कर्णाली प्रदेश सभामा प्रस्तुत भयो । बजेट प्रस्तुत भइसकेपछि सदनमा त्यस बारेमा छलफल हुनु पर्नेमा अहिलेसम्म पनि बजेट बारे छलफलको प्रक्रिया अघि बढ्न सकेको छैन ।

फ्लोर क्रस गरेका चार जना सांसदहरु अम्मर बहादुर थापा, कर्मराज शाही, प्रकाश ज्वाला र नन्दसिंह बुढालाई सर्वोच्च अदालतको आदेशले पुर्नबहाली गरिदिएपछि संख्यात्मक रुपमा ठूलो रहेको दल नेकपा एमाले आफ्नो सरकार बनाउने चलखेलमा लागेकाले यतिबेला कर्णाली प्रदेश सभा बन्धक जस्तै भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरी अघि बढुनुपर्ने समयमा प्रदेशसभाको बैठक बस्न सकिरहेको छैन । ढिलोमा असार २५ भित्र बजेट पास नगरे कानुनी र कार्यान्वयनगत समस्या आउन सक्छन् । कुनै पार्टी भित्रको आन्तरिक किचलोको कारण संसद् अवरुद्ध नगर्न सरकारले सभामुखलाई आग्रह गर्दै आएको छ ।

तर, सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर बहादुर थापा, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सरकारबाट यही अवस्थामा मन्त्रिपदबाट राजीनामा नदिने बताएपनि उनीहरुलाई मन्त्री पदबाट फिर्ता हुनका लागि एमाले संसदीय दलले बारम्बार निर्देशन दिइरहेको छ ।

एकल सरकार बनाउने तयारीमा जुटेको एमालेको आफ्नै सांसदले फ्लोरक्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछिको किचलो अझै सल्टिएको छैन । जसका कारण प्रदेश सभा बन्धक बनेको हो । माओवादी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु मन्त्रीमा नियुक्त भएदेखी एमाले संसदीय दलको बैठकमा सहभागी छैनन् । तीन मन्त्रीका कारण प्रदेशसभामा एमाले आफैं अनिर्णयको बन्दी त बनेको छ नै साथमा बजेटमाथि छलफल गर्नेबेलामा सिंगो प्रदेशसभा नै बन्धक समेत बनाएको छ ।