वीरेन्द्रनगर नगरपालिकाको बजेट साढे एक अर्ब बढि
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आ.व. ०७८÷०७९ का लागि साढे एक अर्ब बढिको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आ.व. का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको हो । विहीबार भएको नवौं नगरसभामा नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको हो ।

जसमा चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पूजीँगत तर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको छ । यस्तै सर्सत तर्फ ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकास तर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधार तर्फ १८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार बजेट विनियोजन गरेको हो । नीति, कार्यक्रम तथा बजेटमा कोरोना महामारीदेखि छोरीलाई सेनिटरी आमालाई सीप, आफ्नै अक्सिजन प्लान्टको स्थापनालगायतका कार्यक्रमहरु समेटिएका छन् ।






