मेहेलकुना अस्पताललाई १४ लाख बढीको सामग्री हस्तान्तरण
सुर्खेत ।
सुर्खेतको मेहेलकुना अस्पताललाई १४ लाख बढीको सामग्री हस्तान्तरण गरिएको छ । अष्ट्रेलिया एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थिक सहयोग तथा एकता फाउण्डेशन नेपाल सुर्खेतको समन्वयमा मेहेलकुना अस्पताललाई अस्थायी टेन्ट, सेनिटाइजर, मास्क, अक्सिमिटर, बेडहरु समेत गरेर १४ लाख १७ हजार १०७ रुयैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सोजन सापकोटाले सामग्री बुझ्दै भन्नुभयो, भौतिक समस्या भैलिरहेको हाम्रो अस्पताललाई यहाँहरुले यी सामग्रीहरु सहयोग गर्नु भएकोले आउँदा दिनमा हामी कोभिडका विरामीहरुलाई थप सेवा दिन सक्ने भएका छौ । ५५ जना सिरियस विरामीहरुको उपचार गरेको अनुभव सुनाउँदै हेर्दा सामान्य भएपनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु महत्वपूर्ण भएकाले विरामीहरुलाई उपचारमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
कोभिडको तेस्रो लहर आउन सक्ने जोखिमलाई मध्यनजर गरि उक्त सामग्रीहरु हस्तान्तरण गरिएको कारितास नेपालका प्रल्लाद हुमागाईले बताउनु भयो । कोभिड प्रभावितहरुलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्य रहेको कञ्चनपुर, बारा र रुपन्देही र सुर्खेत लगायतका जिल्लाहरुमा यस्तो सहयोग गर्दै आइरहेको उहाँको भनाई थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा कारितास नेपालका नरेन्द्र केसीले भन्नु भयो, दुर्गम क्षेत्रका अस्पताललाई पनि सहयोग गर्नुपर्ने र कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपायहरु सबैले अपनाउनु पर्छ ।
एकता फाउण्डेशन नेपालका सहसचिव नविन रेग्मीले भन्नुभयो एकता फाण्डेशनले विपदको क्षेत्रहरुमा काम गर्दै आइरहेको र पछिल्लो समय कोभिड प्रभावितका लागि काम गर्न पाउँदा खुसीको अनुभूति भइरहेको छ ।
गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रमको सहजीकरण खगेन्द्र अधिकारीले गर्नु भएको थियो भने कार्यक्रममा अस्पतालका अन्य कर्मचारी लगायतकोे उपस्थिति रहेको थियो ।






