सुर्खेत प्रहरी भन्छ, अपराधिक क्रियाकलाप घट्यो
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराधिक क्रियाकलाप घटेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार आ.व. ०७५/०७६ मा विभिन्न शीर्षकमा ७ सय ९३ मुद्दा दर्ता भएका थिए भने आ.व. ०७६/०७७ मा ६ सय २२ मुद्दा मात्र दर्ता भएका थिए । यसैगरी चालु आ.व. ०७७/०७८ मा जम्मा ५ सय २० वटा मुद्दा मात्र दर्ता भएको जनाइएको छ ।
आ. व. ०७६/०७७ मा कर्तव्य ज्यान सम्बन्धि मुद्दा ७ वटा दर्ता भएका थिए भने आ.व. ०७७/०७८ मा १० वटा मुद्दा दर्ता भएका छन् । तर ज्यान मार्ने उद्योगमा गत आ.व. मा ११ वटा मुद्दा दर्ता भएकोमा चालु आ.व. मा ८ वटा मात्र मुद्दा दर्ता भएका छन् । यसैगरी गत आ.व.मा भबितव्य ज्यान सम्बन्धि ४७ वटा मुद्दा दर्ता भएका थिए भने चालु आ.व. मा ३४ वटा मुद्दा मात्र दर्ता भएका छन् । फुटकर ज्यान सम्बन्धि भने गत गत आ.व. मा २९ वटा मुद्दा दर्ता भएकोमा चालु आ.व. मा यो संख्या बढेर ३२ पुगेको प्रहरीको भनाई छ ।
सुर्खेतमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या भने उल्लेख रहेको छ । चालु आ.व. मा पनि ९५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । गत आ.व. मा यो संख्या १ सय ११ रहेको थियो । यसैगरी विष सेवन गरी आत्महत्या गर्नेहरुको संख्या दोस्रो स्थानमा रहेको छ । गत आ.व. मा १९ जनाले विष सेवन गरी आत्महत्या गरेका थिए भने चालु आ.व. मा यो संख्या बढेर २१ पुगेको प्रहरीको तथ्याँकले स्पष्ट पार्दछ ।
संगठीत तथा आर्थिक अपराधमा मध्यमा पनि लागु औषध कारोबारमा चालु आ.व. मा ४४ मुद्दा दर्ता भएका छन् भने गत आ.व. मा ५४ मुद्दा दर्ता भएका थिए । तर बहुविवाह तर्फका मुद्दामा भने बृद्धि भएको छ । गत आ.व. मा १८ मुद्दा दर्ता भएकोमा चालु आ.व. मा २२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी जबर्जस्ती करणीमा गत आ.व. मा ६२ मुद्दा दर्ता भएकोमा चालु आ.व. मा ४६ मुद्दा मात्र दर्ता भएको प्रहरीले जनाएको छ । साथै जनर्जस्ती करणी उद्योगमा चालु आ.व. मा २० वटा मुद्दा दर्ता भएका छन् भने गत आ.व.मा १९ वटा मुद्दा दर्ता भएका थिए । सवारी ज्यानमा चालु आ.व. मा १६ वटा मुद्दा दर्ता भएका छन् भने गत आ.व. मा २५ वटा मुद्दा दर्ता भएका थिए ।






