आज २०८ औं भानु जयन्ती, विविध कार्यक्रमबीच मनाइँदै
काठमाडौं ।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती हो । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानु जयन्ती मनाइँदै छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो ।
आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना गर्न थाल्नुभएको थियो । उहाँले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा उल्था गर्नुभएको हो । राष्ट्रिय विभूति आदिकवि आचार्यले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको विज्ञहरूको तर्क छ । भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति लोकप्रिय रहेका छन् । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
यस वर्ष कोरोना भाइरसको संक्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, विभिन्न भर्चुअल कार्यक्रममार्फत पनि कविता वाचन तथा उहाँको सम्झना गर्दै उहाँको जन्मजयन्ती मनाइँदै छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।
भारतका पूर्वोत्तर राज्यहरूमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई त्यहाँका नेपालीभाषीहरूले विशेष उत्सवका रूपमा मनाउने गर्दछन् । जहाँ जहाँ नेपाली भाषी छन् त्यहाँ भानुजयन्तीलाई विषेश उत्सवका रुपमा मनाउँने गरिन्छ ।






