Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

चुनौतीका चाङमाथि देउवा

दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटन पनि सर्वोच्च अदालतबाट खारेज भएसँगै अदालतको परमादेशबाटै प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवालाई सरकार संचालन मात्र होइन वर्तमानको राजनीतिक घटनाक्रमलाई सामना गर्नु पनि सहज छैन । एकातिर गठबन्धनबाट प्रधानमन्त्री बनेका र अर्कोतिर उनको सत्तारोहणसँगै गठबन्धन आधा भत्किसकेको छ । जसले गर्दा पनि उनको कार्यकाल पूर्ण हुन सक्छ कि सक्दैन भन्नेमा शंका छ । किनकी नेकपा एमाले भित्रका २३ जना सांसदहरुको हस्ताक्षरले १४६ पुगेका भएपनि अब एमाले एक ढिका हुने कुराले उनलाई माधव पक्षका सांसदहरुले विश्वासको मत प्रदान गर्छन भन्ने कुनै ग्यारेन्टी छैन । जसले गर्दा उनले सांसदमा विश्वासको मत पाउन सकेनन् भने अब संविधान बमोजिम निर्वाचनमा जानु बाहेकको विकल्प छैन । जसले गर्दा पनि देउवाको प्रधानमन्त्री यात्रा सहज देखिँदैन । यति मात्र होइन देउवाले जुन आधार पेश गरेर प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे त्यो आधार नै मासिने डर पनि छ ।

विश्वलाई नै हायल–कायल पार्ने गरी आएको महामारी देउवाका लागि अर्को चुनौति बनेको छ । एकातिर सबै नागरिकलाई खोपको प्रबन्ध गर्नुछ भने अर्कोतिर लामो समयसम्म भएको राजनीतिक किचलोका कारण अस्तव्यस्त भएको प्रशासनिक कार्यलाई निरन्तरता दिनुछ । कोरोनाको कारण ऋणात्मक रुपमा रहेको अर्थतन्त्रलाई उकास्नु छ । यतिबेलाको परिस्थितिमा देउवाको सत्तारोहण पक्कैपनि सहज छैन । यसका साथै यस भन्दा अगाडि उनी चार पटक देशको प्रधानमन्त्री भइसकेका छन् । चार पटक प्रधानमन्त्री हुँदा पनि उनको कुनै पनि कार्यकाल खासै त्यति सुखद भने रहन सकेन ।

आफ्नै पार्टी भित्रको आन्तरिक विवादका कारण तहस नहस अवस्थामा पुगेको भएपनि नेकपा एमाले संसदको सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । झण्डै दुईतिहाइको सरकार संचालन गरेको अनुभव बटुलेका केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा रहँदै गर्दा संसदमा हुने गतिविधिका बारेमा समेत देउवा उचित व्यवस्थापन मिलाउन जरुरी छ । यदि त्यसो गर्न नसकेको खण्डमा सडक र सदन दुबै तातिने निश्चित छ । त्यसपछि गठबन्धनको चित्त बुझाउँदै सरकार संचालन गर्नु र जनताको मनोभावना अनुसार काम गर्नु देउवाको लागि निकै चुनौती छ । यतिबेला उनले जानी जानी चुनौतीका चाङ माथि उभिने हिम्मत गरेका छन् । यतिबेला उनले राम्रो काम गर्न सकेको खण्डमा आगामी निर्वाचनमा केी सफलता मिल्ला नत्र फेरी पनि उनको छवि धमिलो पानीमै रहने छ ।