Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

उज्यालोमा टिकटक, अध्यारोमा लागुऔषध सेवन गर्ने थलो

सुर्खेत ।
वीरेन्द्रनगर १०को कुन्टी र चौखेढुङ्गा जोड्ने भखरै कालोपत्रे भएको रोड यतिवेला भाइरल रोडको नामले परिचित छ । भरखरको युवा युवतीदेखि बालबालिका र वृद्धावृद्ध समेत उक्त रोडमा टिकटक भिडियो बनाउनको लागि जाने गर्दछन् । विचमा कालोपत्रे रोड अनि चारैतिर खेतमा धान रोपेको हरियालीले निकै सुन्दर देखिने उक्त ठाँउमा दिनको उज्यालो हुने बेलासम्म टिकटकमा रमाएको देखिएपनि साँभmपखको दृष्यले भने कानुनलाइ नै उपहास गरिरहेको हुन्छ ।

साँझपख अध्यारो बढ्दै जाँदा उक्त रोडका लागुऔषध सेवन कर्ताहरुको पनि बाक्लै उपस्थिति हुने गरेको छ । मूलबाटोदेखि एकान्त पनि भएकोले र प्रहरी प्रशासनको नजर पनि नपर्ने भएकोले उक्त बाटोमा साँझको समयमा अनैतिक क्रियाकलाप समेत हुने गरेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।

उक्त रोडमा टिकटक बनाउने नाममा अभिभावकको आँखा छेलेर पुग्ने युवायुवतीको संख्या पनि उल्लेख्य रहने गरेको छ । बाटो बनेपछि यात्रा गर्नका लागि सहज भएपनि साँझपख उक्त बाटोमा यात्रा गर्नै गारो हुने गरेको युवतीहरु बताउँछन् ।

कुनै पनि स्थानलाई चर्चित बनाउनु र त्यसबाट स्थानीय पर्यटनको विकास गर्नु राम्रो पक्ष भएपनि त्यसलाई आधार बनाएर कानूनकै उपहास हुने कार्य गर्नु भने गलत भएको स्थानीयहरुले बताउने गरेका छन् । यता प्रहरी प्रशासन भने त्यस्तो कार्य गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारवाही गर्ने बताउँछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्र डिएसपी रामप्रसाद घर्तिले भने उक्त कार्यलाई तत्काल नियन्त्रण गर्ने बताउँछन् । उनले भने, ‘मोवाइल टोलीदेखि पैदल गस्ती गरेर भएपनि गलत क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिन्छौ ।’

सुन्दर र शान्त वातावरण भएपनि उक्त स्थान उज्यालोमा टिकटक बनाउने थलोको रुपमा परिचित भएपनि अध्यारोमा भने लागुऔषध सेवन गर्ने थलोका रुपमा चिनिन थालेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लागुऔषध ओसारपसार गर्ने मुख्य केन्द्रको रुपमा चिनिएको छ । प्रहरीले सक्रियता बढाएर यस्ता गलत क्रियाकलाप गर्नेहरुलाई निरुत्साहन गर्ने कोसिस गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन ।