भगवतीमाईको सबैभन्दा कम बेरुजु
दैलेख ।
दैलेखका स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु भगवतीमाई गाउँपालिकाको देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन–२०७८ अनुसार जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ बेरुजु निस्किएको विवरण छ । जिल्लाको ११ स्थानीय तहमध्ये सबैभन्दा बढी ठाटीकाँध गाउँपालिकामा बेरुजु देखिएको छ । १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ८ दशमलव ६ प्रतिशत हो ।
जिल्लामा सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ । गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १ दशमलव ९० प्रतिशत अर्थात १ करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३ दशमलव २८ प्रतिशत अर्थात २ करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख २ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा ५ करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६ दशमलव २२ प्रतिशत हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा २ करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ८४ प्रतिशत हो । ७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखापरीक्षण गराएको डुंगेश्वर गाउँपालिकामा २ करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ३८ प्रतिशत हो ।
१ अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ९३ प्रतिशत अर्थात ४ करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ । नारायण नगरपालिकाले लेखापरीक्षण गराएको १ अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा ४ करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ८२ प्रतिशत हो ।
यस्तै नौमूले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४ दशमलव ३९ प्रतिशत, महाबुमा ४ दशमलव १४ प्रतिशत र भैरबीमा ४ दशमलव ६० प्रतिशत हो ।







