ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि विद्रोह : अध्यक्ष नेपाल
काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफूले चालेको प्रतिगामी कदम सच्याउन तयार नभएपछि विद्रोह गरिएको बताउनुभएको छ । आफ्नो पार्टीनिकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताउनुभएको हो ।
अध्यक्ष नेपालले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्रहत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन् ?’ अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताउनुभयो । सो अभियानमा पदलोलुप नभई काम गर्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।
दोस्रो पुस्ताका नेतालाई नेपालको आग्रह : आउनुहोस् नेतृत्व छाड्न तयार छु
अध्यक्ष नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आहृवान गर्नुभएको छ । एमाले छाडेर आफ्नो पार्टीमा आए नेतृत्व छाड्न आफू तयार रहेको नेपालले घोषणा गर्नुभयो । आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहोर्याउनु हुँदै उहाँले भन्नुभयो, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनिहाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन, यो । विचारको लडाइँ हो, यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।’ तत्कालीन समयमा सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि आजभोलि नै अर्को पार्टी घोषणा गरौँ भन्ने नेताहरूले अहिले आफ्नो साथ छाडेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जोसुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरू नै हो ।’
आफूहरूको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उहाँले बताउनुभयो । त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसद्मा आफूहरू चाहिने भनेर सम्झाएको पनि उहाँले बताउनुभयो ।






