Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

महाधिवेशनमा होमियो कांग्रेस, सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्ने सबै पक्षको समझदारी

काठमाडौं ।

नेपाली कांग्रेस १४औं महाधिवेशनमा केन्द्रित हुने भएको छ । वडा अधिवेशन आउन केही दिन मात्रै बाँकी रहँदा कांग्रेस सम्पूर्ण रूपमा महाधिवेशन केन्द्रित हुने भएको हो । संस्थापनइतर समूहले पनि महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेसँगै कांग्रेस महाधिवेशनमा होमिएको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको अनशनका कारण सन्निकट वडा अधिवशन पनि प्रभावित हुने देखिएको थियो । तर, पौडेल पक्षको शनिबार बसेको बैठकले महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेसँगै महाधिवेशनको सरगर्मी बढेको हो । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने गरी केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।

महाधिवेशनमा एकजुट भएर लाग्न सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आहृवान गर्ने निर्णय गरिएको नेता सिंहले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढ्न आहृवान गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

‘क्रियाशील सदस्यहरूको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिसँग कुरा भएको छ । त्यसैअनुसार अघि बढिनेछ,’ बैठकपछि उहाँले भन्नुभयो, ‘अब सबैले एकजुट भएर कांग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।’ वडा अधिवेशन १८ भदौबाट प्रारम्भ गर्ने केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढ्ने विषयमा सभापति देउवासँग सहमति गरिएकाले सोहीअनुसार अघि बढ्ने निर्णय पनि गरिएको नेता सिंहले बताउनुभयो ।

देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।

माग सम्बोधन, अनशन तोडियो

जिल्ला सभापतिले उठाएका माग सम्बोधन गर्न सभापति देउवा तयार हुनुभएको छ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गरी त्यसमा भएका त्रुटि सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरूपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्नेसहितका माग राखेका थिए । सभापति देउवा जिल्ला सभापतिका माग सम्बोधन गर्न तयार हुनुभएको हो । शुक्रबार वरिष्ठ नेता पौडेलसँगको छलफलपछि सभापति देउवा माग सम्बोधन गर्न सहमत हुनुभएको हो ।

माग सम्बोधन भएसँगै जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । क्रियाशील सदस्यताको विवाद टुंग्याएका तीन कार्यदल सदस्य शनिबार साँझ अनशनस्थल पुगेर अनशन तोडाउनुभएको हो । नेताहरू कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक अनशनस्थल केन्द्रीय कार्यालय पुग्नुभएको थियो । कार्यदलका सदस्यहरू जिल्ला सभापतिका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोकिएको सिन्धुपाल्चोक जिल्ला सभापति विकाश लामाले जानकारी दिनुभयो । विधिसम्मत आएका क्रियाशील सदस्यहरूको नाम छुटेको भए पुनः नामावलीमा समावेश गर्ने, त्रुटि भएको भए सच्याउने र निर्वाचन निर्देशिका संशोधन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले अनशन तोडेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउने प्रतिबद्धता जनाइए पनि समय भने नतोकिएको बताउनुभयो । उहाँका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा समेत सहमति जुटेको हो ।

५३ जिल्लाका क्रियाशील सदस्यको विवरण प्रकाशित

कांग्रेसले १४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले प्रकाशित गरेको हो । ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली वेबसाइटमा प्रकाशित गरेको छ,’ कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको छ ।’ अरू जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।

देउवा-दाहालबीच छलफल, मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : प्रवक्ता कार्की

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बिहान करिब एक घण्टा छलफल भएको हो । उहाँहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृत रूपमा छलफल भएको बताइएको छ ।

यता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार सबै दलसँग छलफल भइरहेकोले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने उहाँले बताउनुभयो ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धनबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो । सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने दाबी गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएको दोहोर्‍याउनुभयो । फरक प्रसंगमा तोकिएकै समयमा कांग्रेस महाधिवेशन हुने उहाँको भनाइ छ ।