Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सानो कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ : अध्यक्ष लामा

मुगु कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलको रुपमा चिनिन्छ । जिल्लामा एक नगरपालिकासहित तीनवटा गाउँपालिका छन् । मुगुका अन्य स्थानीय तहभन्दा मुगूम कार्मरोङ गाउँपालिका पर्यटन हिसाबले भरिपूर्ण, बहुमूल्य जडीबुटी यार्सागुम्बाको भण्डार मानिन्छ । यहाँ लामा समुदायको बाहुल्यता छ । जडीबुटी र पर्यटनबाट गाउँपालिकालाई समृद्ध बनाउने पालिकाको मुख्य लक्ष्यसहित पालिकाले पूर्वाधारमा फड्को मारेको छ । भौगोलिक हिसाबले अन्य स्थानीय तहभन्दा यो गाउँपालिका ठूलो छ । जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना बोकेको यो गाउँपालिकामा आवाश्यक नीति तथा कार्यक्रमको खाँचो छ ।  देश संघीयतामा गएको चार वर्ष बितिसकेको छ । तीन सरकारमध्ये नजिकको स्थानीय सरकारले निर्वाचनताका जनतासँग गरेका प्रतिबद्धताअनुसार काम भयो त ? चार वर्षमा पालिकाले उल्लेखनिय कार्य के भयो ? यिनै विविध विषयमा केन्द्रित भएर गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामासँग खड्क सुनारले गरेको कुराकानी : 

छिरिङक्याप्ने लामा अध्यक्ष

चार वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

स्थानीय सरकार सञ्चालन भएपछि दुई वर्षको अवधिसम्म विकास निर्माणका कामसँगै गाउँपालिका व्यवस्थापनमै बित्यो । दुई वर्ष जनतासँग हातेमालो गर्दै विकासे योजनामा बित्यो । कर्णाली प्रदेश सरकार तथा जिल्ला र गाउँमा हुने कार्यक्रममा सहभागी हुँदै समय गयो । आठ महिना बढी लकडाउनले बित्यो ।
यस्तै विभिन्न समस्यासँगै विकास निर्माणका काम गर्दै अगाडि बढेका छौं । तीन वर्षमा जनताका मागअनुसार विकास गरियो । चार वर्षमा आइपुग्दा बाँकी रहेका विकास खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चारमा गाउँपालिकाको ध्यान केन्द्रित भएको छ । गाउँपालिकाको मुख्य समस्या भनेकै सञ्चार थियो । अहिले पालिकावासी सञ्चारको पहुँचमा छन् । किंम्रिमा फोरजीसहितको टावर निर्माण हुँदैछ । पालिकाका ११ वटै वडामा साविकका पाँचवटा गाविसमा वडा कार्यालय बनाइयो । सामुदायिक स्वास्थ्य भवन निर्माण भए । रिउस बगरमा कोभिड–१९ लाई लक्षित गर्दे १० शैयाको अस्पताल निर्माण भयो । गाउँगाउँमा खानेपानी पुग्यो । जिल्लाका चारवटा स्थानीय तहमध्ये पहिलोपटक हाम्रो पालिकाको सबै शाखा रहने गरी प्रशासनिक भवन निर्माण गर्यौं ।

तर हालसम्म सडक निर्माणले गति लिन सकेको छैन । अब बाँकी अवधिमा गाउँपालिकासम्म गाडी पुग्ला ?

हाम्रो मुख्य प्राथमिकता भनेको बाटो हो, तर पुर्याउन सकिएन । चुनौती पनि थपियो । गाउँपालिकासम्म बाटो पुर्याउन प्रदेश हुँदै केन्द्रसम्म धाइयो, त्यहाँ पनि केही पार लागेन । पालिकाले सदरमुकाम गमगढी बजारको महाकाली विद्यालय नजिकैको बाटो हुँदै छाइलसम्म गाडी जेनतेन पुर्याइयो । सोही सडकलाई मर्मतमा मात्र गाउँपालिकाबाट ७० लाख बराबरको खर्च भइसक्यो । तर अझै पनि पालिकावासीले गाडी देख्न पाएका छैनन् । संसद् विकास कोषबाट पनि ११ लाख बजेट हालियो, त्यो पनि भएन । बाटोका लागि मात्र एक करोड बढी खर्च भइसक्यो, तर गति लिन सकेको छैन । यो बाटोका लागि वार्षिक १५ लाखसम्म खर्च हुने गरेको छ ।

गमगढी बजारदेखि पालिकासम्म २२ किलोमिटर बाटो छ, तर अहिलेसम्म आठ किलोमिटरसम्म मात्र बाटो निर्माण भएको छ । गाउँपालिका केन्द्र पुलुसम्म पुग्न अझै १४ किलोमिटर बाँकी छ । गौरवको योजनामा रहेको नाक्चे लाग्ना सडकखण्ड गाउँपालिकाका लागि छोटो बाटो हो । तिब्बतसँग जोड्ने यो बाटो संघ सरकारले चासो नदिँदा अधुरै छ । यदि यो बाटो निर्माण भए पालिकावासीलाई सहज हुने थियो । नाक्चे लाग्ना बाटोका लागि जिल्लामा रहेका सरोकारवाला निकाय, अन्य निकायसँग पनि धेरै बहस, कचहरी भए । संघमा पनि धाइयो, तर केही सीप लागेन । गाउँपालिकामा बजेट थोरै आउँछ, पुग्दैन, अन्य योजनामा ठिकै हुन्छ । कर्मचारीलाई तलबभत्ता त्यसैमा खुवाउनुपर्छ । गौरवका योजना गर्नै पाइन्न । यो सँगै हामीले विश्वका चार धाममध्ये एक छायाँनाथ धामलाई केही रकम छुट्याएका छौं । भक्तजनहरुको समस्यालाई मध्यनजर गरेर गाउँपालिकाले पदमार्ग निर्माणसँगै धर्मशाला पनि बनायो । मुख्य मुख्य स्थानमा भगवान बुद्धका मूर्ति, गुम्बा निर्माण भए ।

गाउँमा सिंहदरबार आएको जनतालाई प्रत्याभूत भएको छ त ?

प्रत्याभूत भए जस्तो लाग्छ । मैले जनताको मागअनुसार काम गरिरहेको छु । प्रत्येक वडामा विद्युत र खानेपानी समस्याको अन्त्य भएको छ । जनताले घरदैलो सेवा पाएका छन् । पहिलेको जस्तो सानो कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । हामीसँग उपलब्ध स्रोतअनुसार काम गरेकै छौं । यसकारण पनि जनताले गाउँमा सिंहदरबार आएको महसुस गरेका छन् भन्ने अपेक्षा छ ।

स्वास्थ्य क्षेत्रमा सुधार कति भयो ?

स्वास्थ्यचौकीमा सिटामोल नपाउने र स्वास्थ्यकर्मी नबस्ने अवस्था अन्त्य भएको छ । पालिकाले हालसम्म लाखौं मूल्य बराबरका औषधि खरिद गरिसकेका छौ । भौगोलिक विकटताले सडक विस्तारमा समय लाग्ने देखिन्छ । तर यो काम मेरो कार्यकालभित्रै सम्पन्न हुन्छ । विद्युततर्फ चाम्नीगाडमा बत्ती बलिसक्यो । अब करान भेगमा दुई वर्षभित्र सबै वडामा बत्ती बल्छ । पर्यटनको सम्भावना भएको यस गाउँपालिकामा धेरै तालतलैया, कोइकी हिमाल, छायाँनाथ धामलगायत धेरै क्षेत्र छन् । तर ती गुमनाम जस्तै छन् । यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने काम भइरहेको छ ।

लकडाउनले विकासमा कत्तिको असर पा-यो ?

विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ ले हाम्रो गाउँपालिकामा पनि असर परेको छ । यसले गर्दा लकडाउनको बेला जेजे गर्नुपर्ने काम थिए, त्यो गर्न सकिएन । गाउँसभाबाट दर्जनौ योजनासहित बजेट विनियोजित भएको थियो । तर लकडाउन र कोभिडले गर्दा सबै काम गर्न सकिएन । अब तिनै अधुरा योजना पुनर्निर्माणमगर्ने गाउँपालिकाको लक्ष्य छ । बाँकी चालू आवका योजना छिट्टै सम्पन्न हुनेछन् ।

अन्य स्थानीय तहभन्दा यो गाउँपालिका भूगोलका हिसाबले पनि ठूलो छ, यसका फाइदा बेफाइदा के छन् ?

भूगोलसँगै कृषि, पशुपालन व्यवसाय, जडीबुटी, सांस्कृतिक रीतिरिवाज र पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । यहाँ कृषिका लागि खेतीयोग्य जमिन पनि उत्तिकै छ । विश्वकै बहुमूल्य जडीबुटी यार्सागुम्बा यसै गाउँपालिकाको पाटनमा पाइन्छ । विश्वकै चार धाममध्ये छायाँनाथ धाम पनि हाम्रै गाउँपालिकामा पर्छ । कर्णालीका जिल्लाका साथै बझाङ, बाजुरासहित सुदूरपरिश्चमका भक्तालुजनको भिड लाग्छ । पर्यटकीय सम्भावना बोकेका कोइकी हिमाल, कान्जीरोवा हिमाल, तालतलैया, बौद्ध गुम्बालगायत पर्यटकीय क्षेत्र पनि यहाँ छन् । त्यसैले भौगोलिक विकटताले यहाँका सम्भावना ओझेलमा परे पनि सबै फाइदाका विषय छन् ।

योजना बाँडफाँटमा राजनीतिक आस्था मात्रै चल्छ भन्ने छ नि ?

राजनीतिक आस्थाका आधारमा हामीले योजना बाँडफाँट गरेका छैनौं । अन्य स्थानीय तहमा त्यस्तो प्रवृत्ति होला । हाम्रो पालिकामा त्यस्तो छैन । समान तरिकाले आवश्यकताका आधारमा विकासका योजना बाँडेका छौं । र, योजना बाँडफाँटमा स्थानीयको पनि उत्तिकै उपस्थिति हुन्छ । विकास निर्माणको छनोटमा जनता आउनु प¥यो । किनभने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले योजना छनोट तथा वितरण गर्दा स्थानीयको भेलाबाट गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैअनुरुप हामीले काम गरेका छौं । गाउँस्तरमा योजना छनोट गर्नुपूर्व के समस्या छ ? त्यो त त्यहाँकै जनतालाई थाहा हुन्छ । सोहीअनुसार विकासका योजना बाँडफाँट गर्ने हो । स्थानीयको उपस्थितिबिना कुनै पनि काम सम्भव छैन । गाउँपालिकामा जति विकास भए, त्यो जनताको इच्छा र चाहनाअनुसार भएको छ । बजेट थोरै होला । काम ढिलै होला । तर स्थानीयवासीको इच्छाअनुसार भएको छ । न्युज कारखाना