Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

पाँच मुक्तक – धुर्ब सञ्ज्याल

धुर्ब सञ्ज्याल

एक
गर्दा पनि पुरै जिन्दगी अर्पण बुझ्न सकिएन
जिन्दगीको कुनै पल कुनै क्षण बुझ्न सकिएन
कयौं परिमाणको कारण बुझियो विज्ञान पढेर
तर आफ्नै मन दुख्नुको कारण बुझ्न सकिएन ।

दुई
सिसा जस्तै हुन्छ मन, टुटेपछी टाल्न बहुत गाह्रो हुन्छ
अहिल्यै सुरक्षा गर्नुस् पछि समाल्न बहुत गाह्रो हुन्छ
बरु मुटु झिकेर दिन परे कसैलाई सहज हुने रहेछ
तर यो मुटुमा बसेको मान्छे निकाल्न बहुत गाह्रो हुन्छ ।

तीन
घरी आफ्नै सम्झियौ ं घरी अन्जान सम्झियौ
मलाई अँगाल्नु समस्या र छोड्नु समाधान सम्झियौ
तिमीले रोजेको मुटुलाई के सम्झिने विचारमा छौ
मेरो यो कोमल हृदयलाई त खेल मैदान सम्झियौ ।

चार
आइरह्यो याद सधैं, पुरानो कहिल्यै भएन
र मेरो मुटुको घाउ, सानो कहिल्यै भएन
थिची रह्यौ बरु धित मरुन्जेल मेरै मुटुलाई
तिम्रो कठोर दिल, अचानो कहिल्यै भएन ।

पाँच
भएर आजैबाट सरिक मन्त्री बन्नुपर्छ
सर्दै गर नेताको नजिक मन्त्री बन्नुपर्छ
कलम बोकेर हिँड्नेहरु रेटिन्छ्न छोरा
हतियार बोकेर हिड्न सिक मन्त्री बन्नुपर्छ ।
पचाल झरना गाउँपालिका ८ कालिकोट
हाल भरतपुर १० चितवन