Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

वर्षाको कारण धान कुहिन थाल्यो, किसानहरु चिन्तित

सुर्खेत ।
सुर्खेतमा आइतबारदेखि निरन्तर परेको पानीका कारण पाकेको धान कुहिन थालेको छ । धानबाली भित्र्याउने बेला पानी परेपछि काटेको धान खेतबाट उठाउन नपाउँदै कुहिन थालेपनि किसानहरु चिन्तित भएका छन् । दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।


दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । दशैंको टीका सकिए नपाउँदै पानी पर्न थालेपछि धान काट्ने किसानको योजना बिफल भएको छ । काटेर उठाउन नपाएका धान कुहिने तथा उम्रिने स्थितिमा पुगेका छन् । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिएपनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ । वर्षभरीका लागि खाने खेती अधिँयामा भएपनि गरियो अहिले भित्र्याउने बेलामा पानीले सखाप पारेपछि वर्षदिन कसरी भोक मेटाउने भन्ने चिन्ता रहेको वीरेन्द्रनगर १० का टोपेन्द्र शर्माले बताए । काट्न बाँकी रहेको धान ढलेर उठाउनै नमिल्ने अवस्था भएकोले परिवारलाई कसरी पाल्ने भन्नेमा चिन्तामा रहेको किसानहरुको भनाई छ ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । मौसमविदले पर्सि बुधबारसम्म नै पानी पर्ने बताएका छन् । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ छ ।