Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामाको घोषणा गरेका छन् । सोमबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । आलोपालो सरकारको नेतृत्व गर्ने काँग्रेससँगको पूर्व सहमति अनुसार शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । गएको बैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत दिँदा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।
सोमबार (साँझ) प्रदेशवाशीका नाममा विशेष सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिँदै प्रदेश सरकारले आफ्नो कार्यकालमा गरेका प्रगतिहरु सुनाएका थिए । ११३ वटा मन्त्रिपरिषद्को बैठकले ६९३ वटा जनपक्षिय निर्णयहरु गरेको बताए । पूर्वसहमति अनुसार इमाकको आधारमा आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
०७४ माघ २५ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले दल नेतामा निर्वाचित भएका शाहीले बामगठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्रीको राजीनामासँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसको हातमा पुगेको छ । अब नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभा हाल ३५ सदस्यमा खुम्चिएको छ । माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी, एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद गुमेको छ । प्रदेशसभामा नेकपा एमालेका (सभामुख राजबहादुर शाही)सहित१३ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपाको १ सांसद छन् ।
गठबन्धनको बलमा ६ सिट जितेको कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने छ । कर्णालीमा १८ जना सांसदको समर्थनमा सरकारले बहुमत पाउँछ । काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नयाँ सरकार गठन गर्नेछन् ।