यमपञ्चक सुरु, आज धन त्रयोदशी व्रत (धन्तेरस) र धनवन्तरी जयन्ती
काठमाडौं ।
आजबाट यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको हो । यस वर्ष यमदीपदान मंगलबारदेखि सुरु भएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी, धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आज नै परेको छ ।

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यस्तै, भोलि अर्थात् बुधबार काग तिहार, कुकुर तिहार र नरक चतुर्दशी रहेको छ भने बिहीबार लक्ष्मी पूजा, महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती र सुखरात्रि रहेको छ । यसैगरी, शुक्रबार गोवर्धन पूजा, म्हपूजा, हली तिहार, नेपाल सम्वत ११४२ प्रारम्भ र गाईगोरु पूजा रहेको छ भने शनिबार भाइटीका, किजा पूजा रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिको बैठकले यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजेका लागि निक्र्योल गरेको छ । ‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भन्नुभयो ।






