स्रष्टाहरुमा उत्साह जगाउन आवश्यक छ : प्रदेश प्रमुख परियार
सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले स्रष्टाहरुमा उत्साह जगाउन आवश्यक भएको बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा वाङ्मय चौतारी नेपालको आयोजनामा भएको साहित्य गोष्ठी तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै परियारले भन्नुभयो, ‘साहित्यिक क्षेत्रमा योगदान दिएका साहित्यकारहरुलाई सम्मान गन पाउँदा खुसी लाग्यो ।’

वरिष्ठ साहित्यकार पृथ्वीबहादुर सिंहको ६९ औं जन्मोत्सवको अवसरमा पारेर आयोजना गरिएको उक्त कार्यक्रममा चार जना स्रष्टाहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा लिलाधर गौतम, डा. महेन्द्रकुमार मल्ल, गणेशभक्त गौतम र रगवीर विश्वकर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथि पिताम्बर ढकालले लेखन कार्य गाह्रो भएपनि त्यसको निरन्तरताले सफलतामा पु¥याउने बताउनु भयो । नेपाली भाषा साहित्यको लागि साहित्यकाहरुले स्तुत्य कार्य गरेको उहाँको भनाई थियो । यसैगरी वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक कूलमान नेपालीले सच्चा लेखक तथा कलाकारहरुको मूल्याङ्कन गर्ने कार्यमा सरकार चुकेको बताउनु भयो । अवसरवादीहरुका कारण इमान्दार कलाकार र साहित्यहरु ओझेलमा पर्ने तथा चाकडीबाजहरु सम्मानीत हुने प्रवृत्तिको अन्त्य आवश्यक भएको उहाँको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पृथ्वीबहादुर सिंहले आफ्नो विगतदेखि वर्तमानसम्मलाई सम्झँदै नेपाली साहित्यका लागि आफूले गरेर र भविष्यमा गर्ने योजनामा रहेका लक्ष्य बताउनु भयो । कर्णाली लोकसाहित्यको खानी भएको बताउँदै यसको सिर्जना र विज्ञानको क्षेत्रमा यथार्थमा सम्मान गरिदैन तबसम्म लोकतन्त्र प्रजातन्त्र कुनैको पनि अनुभूति नहुने बताउनु भयो । अरुको भर पर्नु भन्दा आफैबाट सुरुवात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लोकसाहित्य पठन र लेखनमा जोड दिनु सबैलाई उहाँले आग्रह गर्नुभयो ।

कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृत, कर्णाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष सीता यरी, खगेन्द्र बस्नेत, लक्ष्मी खड्का, चक्रदेव शर्मालगायत करिब एक दर्जन साहित्यकारहरुले गीत, गजल र कविता वाचन गर्र्नुभएको थियो भने मणीकुमार पोखरेल, ललितनाथ योगी, देवीराम थापा, थानेश्वर लामीछाने, तुलाराम थानी, हरिलाल महतारालगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका उपाध्यक्ष युवराज शर्माले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण बलभद्र भारतीले गर्नुभएको थियो ।








