Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

चिसोबाट बचौ

मंसिरको आधा महिना गइसकेको छ । पुष नलाग्दै यसपालि निकै चिसो बढिरहेको छ । पुष र माघ विशेष गरी चिसो हुने महिना भएपनि मंसिरको १५ अगाडि नै चिसो बढ्नुले जनजीवन कष्टकर बन्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा हिमपात हुने र तराइका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्ने भएकाले पनि जनजीवन प्रभावित हुने गर्दछ । सामान्यतया कामकाज भन्दा पनि मानव स्वास्थ्यमा समेत निकै असर गर्ने भएकाले चिसोबाट बच्न जरुरी छ । चिसोका कारण स्वास्थ्यमा आउने समस्याहरुबाट बच्नका लागि ध्यान दिन जरुरी छ । मानव स्वास्थ्यले न धेरै चिसोलाई सहनसक्छ न धेरै गर्मीलाई । तरपनि प्राकृतिक रुपमा बदलिने मौसमको सामना गर्नैपर्ने भएकाले पनि यो हिउँदको समयमा चिसोबाट बच्न आवश्यक छ ।

चिसोका कारण तराइमा बर्षेनी कतिपयले ज्यान गुमाउने गर्दछन् भने हिमाली क्षेत्रमा हुने हिमपातका कारण पनि कतिपयको ज्यानै जान सक्ने भएकाले त्यसतर्फ ध्यान दिनु जरुरी छ । चिसोका कारण विशेष गरी गर्भवती महिलाहरु, वृद्धवृद्धाहरु र बालबालिकाहरुमा समस्या उत्पन्न हुने गर्दछ । बालबालिकाहरुलाई निमोनिया हुने सम्भावना रहन्छ भने वृद्धवृद्धाहरु पनि चिसोबाट निकै प्रभावित हुने गर्दछन् । दमरोगका विरामीहरुलाई चिसोले निकै प्रभावित बनाउने गर्दछ भने रुखाखोकी, ज्वरो जस्ता रोगहरुले पनि चिसोमा असर गरिरहेका हुन्छन् । यो समयमा बाक्लो हुस्सु लाग्ने भएकाले सवारी साधनहरु चलाउँदा समेत ध्यान दिन जरुरी छ । हुस्सुका कारण बाटो नै नदेखिने भएकाले पनि दुर्घटनाहरु निम्तिन सक्छन् । दुई पाङ्ग्रे सवारी साधनमा सवार गर्नेहरुले त झनै ख्याल गर्नुपर्छ । बाहिरको चिसोले हानिरहेको हुन्छ जसले गर्दा सवारी साधनलाई नियन्त्रण नै गर्न समेत कठिन हुनसक्छ । त्यसैले पनि आवश्यक तयारी गरेर मात्रै साइकल मोटरसाइकलमा हिड्नुपर्ने हुन्छ ।

चिसोबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीहरु अपनाउन चिकित्सकहरुले पनि सुझाएका छन् । चिसोमा न्यानो कपडा लगाउने, झोलिलो पदार्थको सेवन गर्न आवशयक छ भने आगो सेक्ने नाममा घरका झ्याल ढोकाहरु बन्द गर्दा अक्सिजनको कमी हुने र बालबालिकाहरु निसास्सिने समस्या आउन सक्छ । विद्युतीय हिटरहरु संचालन गरेर त्यसबाट ताप लिने भएपनि त्यसबाट हुन सक्ने नकारात्मक क्षतिबाट बच्नका लागि सावधानी अपनाउन आवश्यक छ । अति आवश्यक काम नपरी घरबाहिर ननिस्कनु, दिउँदो घाम लागेको खण्डमा घाममा बस्नु तथा खुला ठाउँमा आगोको व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ ।