Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

जुम्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्दै

जुम्ला ।

पछिल्लो समय जुम्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो । घरमा सुत्केरी गराउँदा रक्तश्राव धेरै हुने, साल फुक्न नसक्नेलगायत समस्या आउने गरेको थियो । अहिले स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीले सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा तीव्र वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकाले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् ।’ नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन जाने गरेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । स्थानीय तहले पनि सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम सञ्चालन गरेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार १२३ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । जसमा एक हजार ५१२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । ६११ जना आमाहरूले सामान्यरूपमा सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्ममा ५३३ जना आमाहरूले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ३९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । १३७ जनाले सामान्यरूपमा सुरक्षित प्रसूति सेवा पाएको जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाहीले बताउनुभयो ।

जिल्लामा २६ वटा बर्थिङ सेन्टर छन् । ३० वटा स्वास्थ्य संस्था रहेका छन् । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्थामा जाने गरेको गुठीचौर गाउँपालिका–३ का स्थानीयवासी अप्सरा न्यौपानेले बताउनुभयो । चेतनाको विकासले महिलाहरू सुरक्षित प्रसूति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमै गएर तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट प्रसूति सेवा लिन थालेपछि अहिले मातृ मृत्युदर र बाल मृत्युदरमा समेत कमी आएको महिला स्वास्थ्य स्वयंसेविका गोरीकला बस्नेतले बताउनुभयो ।