Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

कविता – आज फेरि…

अस्मिता भट्टराई

तिमीसँग छुटेको महिना , बार गन्दागन्दै
आज फेरि महिनाबारी भएकी छु
र, पटुकी कसेर
यादका पाना पल्टाउदै तिमीलाई सम्झिदैछु…
मङ्सिरको त्यो दिन–
एक हातले आफ्नो सानो पेट थिच्दै
अर्को हातले तिम्रो गाला सुम्सुम्याउदै थिएँ
तिमी आफ्ना दुबै हातले मेरो कपाल मुसारिरहेका थियौ
कस्तो अचम्म है–
सँगै भएर पनि एकपटक कस्तो छ नभनेको तिमी
मेरो मोबाइलमा आएर कसैले
– कस्तो छ तिमीलाई ?
– पेट दुख्न अलिक ठिक हुदैछ ?
– आफ्नो ख्याल राख्नु ल !
भनेर बिदा भएको कुरालाई लिएर ममाथी खनियौ
तिमीले मलाइ शंकालु र संकुचित नजरले हेर्यौ
महिनाबारीलाई अपबित्र ठान्ने तिम्रो सोचले
म तिर फर्किएर रिसाउदै
दुनियाँलाई भन्दै हिँड्नुपर्ने के पौरख गरेकी हौ र भनेको
अहिल्लै हो जस्तो लाग्छ
तिम्रो र मेरो प्रेममा
नयाँ आयाम थप्न महिनाबारी भएकी थिएँ म
तर तिमीलाई खै के भयो
सायद तिम्रो पुरुषत्वमा आघात पर्यो होला
जुरुक्क उठेर गएदेखि फर्किएनौ तिमी
बुझ्नु–
पहराको कोख नरसाएसम्म खेती हरियो हुँदैन
मैले तिमीलाई–
महिनावारीको भ्रम र वास्तविकता बुझाउन सकिनं
सुनेको छु–
तिमी अर्कैको भैसक्यौ
मेरो कामना छ–
दुःखमा कसैले दिएको साहनाभुतीकै कारण
तिम्रो घरबार नबिग्रीयोस्
यस्तो हुँदै गयो भने
तिम्रो पुरुषसत्ताले कालान्तरमा
महिनाबारी र बिछोड पर्यायबाची हुन् भनिदिन सक्छ
ए सुन त !
आज फेरि म महिनाबारी भएकी छु !