Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ज्योतिष ज्ञानः पाठकका प्रश्नमा हाम्रो उत्तर

विभिन्न समयमा हामीले लेखेको लेखहरुले हामीलाई सन्तुष्ट बनाएका छन् । त्यसकै एउटा कारण हो हाम्रा पाठकहरु । हाम्रा पाठकहरुले हामीलाई भेटे तथा फोन मार्फत पनि जुन प्रतिक्रिया दिनुभएको छ त्यसले हामीलाई लेख्ने उर्जा त थप्ने नै भयो अर्कातिर पाठकहरुलाई पनि सहज बनाएको कारण आज यो नयाँ लेख मार्फत हामी ज्योतिषशास्त्र अन्तर्गत हामीलाई बारम्बार सोधिने प्रश्नहरुको एकमुष्ट जिज्ञासा मेटाउने कोसिस गर्नेछौ ।

ज्यो. खगेन्द्र अधिकारी

हाम्रा पाठकहरुले हामीलाई सोध्नुहुन्छ, मैले कुन रत्न (पत्थर, धातु) लगाउँदा शुभ हुन्छ भनेर । त्यसको लागि तपाईले दुईवटा कुरामा ध्यान दिनु आवश्यक हुन्छ । एउटा त तपाईको राशी अनुसार फरक फरक रत्नहरु हुन्छन् भने अर्कोतिर तपाईलाई कुन ग्रहले अशुभ फल दिएको छ । अर्थात् तपाईको कुन ग्रह यतिबेला सक्रिय भएका रहेछ । त्यसबाट शान्ति प्राप्त गर्नका लागि तपाईले रत्न धारण गर्नुपर्दछ । अर्को कुन रत्नको धारण गरेमा तपाईलाई अहिलेको भन्दा अझ बढि फलदायी हुन्छ भन्ने कुरालाई विचार गर्नैपर्दछ ।

यसैले मेष राशीलाई रातोरंग शुभहुन्छ भने मुगा रत्न शुभ हुन्छ । बृष राशीका लागि सेता रंग शुभ हुन्छ भने हीरा रत्न शुभ हुन्छ । मिथुन राशीका लागि हरियो रंग शुभ मानिएको छ भने पन्ना रत्न शुभ मानिएको छ । कर्कट राशीका लागि सेतो रंग शुभ रहन्छ भने मोती रत्न शुभ रहन्छ । सिंह राशीका लागि रातो रंग शुभ हुन्छ भने माणिक्य रत्न शुभ रहन्छ । कन्या राशीका लागि हरियो रंग शुभ छ भने पन्ना रत्न शुभ छ । तुला राशीका लागि सेतो रंग शुभ छ भने हीरा शुभरत्न छ । बृच्छिक राशीका लागि रातो रंग शुभ छ भने मुगा रत्न शुभ छ । धनु राशीका लागि पहेलो रंग शुभ छ भने पुष्पराज रत्न शुभ छ । मकर राशीका लागि कालो रंग शुभ छ भने नीलम रत्न शुभ छ । कुम्भ राशीका लागि पनि कालो रंग नै शुभ छ भने नीलम नै रत्न शुभ छ र मीन राशीका लागि पहेलो रंग शुभ छ भने पुष्पराज रत्न शुभ मानिएको छ ।

यसैगरी ग्रह अनुसार सूर्यका लागि रत्न माणिक्य धातु सुन दाँया हातको काँहिली औलामा धारण गर्नुपर्दछ । चन्द्रका लागि रत्न मोती घातु चाँदी देब्रे हातको काँहिली वा कान्छी औलामा धारण गर्नुपर्दछ । मंगलका लागि रत्न मुगा धातु तामा दाहिने हातको काँहिली औलामा धारण गर्नु उपयुक्त हुन्छ । बुधका लागि रत्न पन्ना धातु सुन दाहिने हातको कान्छी औलामा धारण गर्नुपर्दछ । बृहस्पतिका लागि रत्न पुष्पराज धात सुन दाहिने हातको चोर औलामा धारण गर्नु लाभदायक हुन्छ । शुक्रका लागि रत्न हिरा धातु प्लेटिनियम दाहिने हातको कान्छी औलामा धारण गर्नुपर्दछ । शनिका लागि रत्न नीलम धातु पञ्चधातु दाहिने हातको कान्छी औलामा धारण गर्नुपर्दछ । राहुका लागि रत्न गोमेद धातु अष्टधातु दाहिने हातको माझी औलामा धारण गर्नु राम्रो हुन्छ र केतुका लागि रत्न सहसुनिया धातु चाँदी दाहिने हातको काँहिली औलामा धारण गर्नु राम्रो हुन्छ ।

यसैगरी हामीलाई बारम्बार हाम्रा पाठकहरुले सोध्ने अर्को प्रश्न छ, मैले कुन पेशा गर्दा उचित हुन्छ फलदायी हुन्छ ? यसको जिज्ञासा पनि हामी यसै लेख मार्फत मेटाउने कोसिस गर्दैछौ । पाठकबृन्द, हामीले बारम्बार भन्दै आएका छौ ज्योतिष विधा भनेको विज्ञानसम्मत् हो र छ । त्यसैले यसलाई कर्मकाण्डिय पद्धतिमा राखेर दाँज्नु हुँदैन । ज जसले ज्योतिष विधामा विश्वास राख्नु हुन्छ उहाँका लागि ठीक छ तर जसले विश्वास राख्नु हुँदैन उहाँहरुका लागि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीड बाहेक अरु केही भन्न सकिदैन । तर सफल फल र निष्फलको बारेमा उहाँहरु आफै भागीदार हुनुहुन्छ हामीले केही भन्न सक्दैनौ । पेशा रोज्नका लागि तपाईको जन्मकुण्डली अर्थात् लग्न कुण्डलीको आवश्यकता पर्दछ । तपाईको लग्नकुण्डलीमा कुन ग्रह कुन स्थानमा अर्थात् कुन भावमा बसेको छ त्यसले प्रभाव पार्ने हो । त्यो मध्येपनि द्वितीय, पञ्चम, नवम, दशम, तथा एकादश भाव एवम् द्वितीयेश्, पञ्चमेश, नवमेश, दशमेश, तथा एकाददेश आदी ग्रहहरुले पेशाको निर्धारण गर्ने गर्दछन् ।

माथि उल्लेखित स्थानहरुमा सूर्य भएमा राजपत्रांकित अधिकृत अर्थात् सरकारी जागिरको योग बन्छ । सूर्य मंगल र केतु भएमा बिजुलीसँग सम्बन्धित कार्य उत्तम हुन्छ । सूर्य र केतु भएमा रेडियो टेलिभिजनको कार्य सफल हुन्छ भने सूर्य नवमेश तथा पञ्चमेश भएमा बाबुले गरेको पेशा अर्थात् पुर्खेउली पेशालाई नै निरन्तरता दिएमा राम्रो हुन्छ । सूर्य र शनि एमा मेडिकल तर्फ अर्थात् डाक्टर चिकित्सक बन्ने योग रहन्छ भने सूर्य शनि र राहु भएमा वैध बन्ने योग रहन्छ । सूर्य र बृहस्पति भएमा धार्मिक कार्यमा उन्नती हुन्छ । सूर्य चतुर्थेश भएमा काठको व्यापार राम्रो हुन्छ । चतुर्थेश सूर्यसँगै शुक्र भएमा पनि फर्निचरकै सामग्रीमा राम्रो हुन्छ । सूर्य शुक्र द्वादशेश भएमा पनि काठकै व्यापार फलदायी हुने गर्दछ । सूर्य र बुध भएमा सोडा पानी, केमिकल आदिको व्यापार उत्तम हुने योग बन्दछ । पाठकहरुलाई लाग्नसक्छ कतिपय कुरा स्पष्ट आएनन् । यो सत्य हो । किनकी कुन स्थानमा भएको ग्रहले कुन स्थानमा भएको ग्रहलाई कति दृष्टिमा देखेको छ त्यसको सम्बन्ध के छ भन्ने कुराले पनि महत्व राख्ने भएकाले त्यसको लागि कुण्डलीकै अध्ययन गर्नु आवश्यक छ ।

हामीलाई सोधिने अर्को प्रश्न हो, कुन ग्रहले कुन समयमा फल दिन्छ ? ज्योतिष शास्त्रमा नव ग्रह हुन्छन् यी ग्रहरुले मान्छेको जन्मजात नै प्रभाव पारिरहेका हुन्छन् । तर सबै ग्रहले सबै समयमा त्यस्तो प्रभाव पार्दैनन् । फरक फरक ग्रहले फरक फरक उमेर समूहमा फल प्रदान गर्ने गर्दछन् । बृहत् पराशंर होराशास्त्रमा भनिएको छः

द्वाविंशो दिननाथवर्षकथितः चन्द्रेचतुविंशतिः
अष्टाविंशतिकः कुजस्य कथितो दन्ते बुधस्य स्मृतमाः
जीवषोडश पञ्चविंश भृगुजे षष्ठत्रिसौरिर्वदेत्
उच्चस्था यदि केन्द्रगाः शुभखगाः कुर्वन्ति आग्योदयात ।
यसको अर्थ हो, सूर्यले आफ्नो शुभाशुभफल २२ औं वर्षमा प्रदान गर्दछ भने चन्द्रमाले २४ औं वर्षमा मंगलले २८ वर्षमा बुधले २६ या ३२ वर्षमा गुरुले १६ या ३२ वर्षमा शुक्रले २६ र ४२ वर्षमा शनिले ३६ वर्षमा तथा राहु र केतुले ४२ तथा ४८ वर्षमा फल प्रदान गर्दछन् ।

यसैगरी हामीलाई सोधिने अर्को महत्वपूर्ण प्रश्न हो, कुन ग्रहबाट कुन फल हेरिन्छ अर्थात् कुन ग्रहले कुन फल दिन्छ र कस्तो फल दिन्छ ? यो महत्वपूर्ण कुरा हो । हाम्रा पाठकहरु र ज्योतिष विधाको अनुशरण गर्नेहरुदेखि ज्योतिष विधाको बारेमा ज्ञान दिनेहरुका लागि पनि यो महत्वपूर्ण छ । त्यसैलेपनि कुन ग्रहबाट कुन फलादेश गरिन्छ भन्दापनि कुन ग्रहले कस्तो फल दिन्छ र कुन भावबाट कुन फलादेश गरिन्छ भन्दा अझ स्पष्ट हुन्छ भन्ने कुरालाई पाठकहरु समक्ष जानकारी गराउने उद्देश्यले हामीले यसको बारेमा स्पष्ट पार्ने कोशिस गरेका छौ । हाम्रो लग्न कुण्डलीमा १२ वटा स्थान अर्थात् घर अर्थात् भाव हुन्छ । ती प्रत्येक भावमा १ देखि १२ सम्म अंकहरु क्रमशः रहन्छन् तर ग्रहहरु भने जन्म समयका आधारमा कुनैमा भावमा बसेका हुँदैनन् कुनैमा एक कुनैमा दुई वा कुनै तीन कुनैमा चार गरेर बसेका हुन्छन् । जहाँ जुन भावमा बसेपनि ९ वटा ग्रहहरु त्यो कुण्डली भित्र रहने गर्दछन् ।

ग्रहहरु विशेषतः खास खास आफ्नै भावमा बसेमा मात्र पूर्ण रुमिा शुभाशुभ फल दिन्छन् । यसरी आफ्नै भावमा बसेर राम्रा नराम्रा फल दिने ग्रहहरु कारक ग्रहहरु हुन् । जस्तो कि सूर्य ग्रहले प्रथम, नवम, दशम भावमा चन्द्रमाले चतुर्थ भावमा, मंगलले षष्ठम भावमा बुधले चतुर्थ र दशम भावमा बृहस्पतिले पञ्चम नवम दशम र एकादश भावमा शुक्रले द्वितीय तृतीय तथा सप्तम भावमा बसेमा विशेष राम्रो फल दिने गर्दछन् । लग्न भावमा सूर्य द्वितीय भावमा बृहस्पति तृतीय भावमा मंगल चतुर्थ भावमा चन्द्रमा तथा बुध पञ्चम भावमा बृहस्पति षष्ठम भावमा शनि र मंगल सप्तम भावमा शुक्र अष्टम भावमा शनि नवम भावमा सूर्य र बृहस्पति दशम भावमा सूर्य बुध बृहस्पति र शनि एकादश भावमा बृहस्पति द्वादश भावमा शनि विशिष्टकारक हुन्छन् । यी ग्रहहरुले सो भावमा विशेष फल दिन्छन् ।

यस्तै लग्नभावमा राहु द्वितीय भावमा चन्द्रमा तृतीय भावमा शुक्र चतुर्थ भावमा बुध पञ्चम भावमा बृहस्पति षष्ठम भावमा शुक्र सप्तम भावमा केतु अष्टम भावमा बुध नवम भावमा सूर्य दशम भावमा बुध एकादश भावमा केतु द्वादश भावमा सूर्य र चन्द्रमा अनिष्टकारक हुन्छन् । यी ग्रहहरु सो भावमा बसेको भए कार्य सिद्धिमा विशेष बाधा गर्दछन् ।

सूर्य ग्रहबाट राज्य, मानप्रतिष्ठान, कलाकौशल, विद्याबुद्धि, धर्म, कर्म, कृर्ति, तीब्रताका विशेषमा फलादेश गरिन्छ भने चन्द्रमाबाट आन्तरिक पीडा, मन सम्बन्धि मिस्त विचार, मातृसुख, कृषि उत्पादन, आयूर्वेदी, डाक्टरी, उपचार स्त्री, धनधान्यादीका बारेमा फलादेश गर्ने गरिन्छ । मंगलबाट पराक्रम, पुरुषार्थ, सहास, शस्त्र, भय, रक्तविकार, विवादमा विजय पराजय आदि विषयहरुको फलादेश गर्ने गरिन्छ । बुधबाट विधा, बुद्धि, वाणिज्य, शिल्पकला तथा शौभाग्य आदिको विचार गरिन्छ । बृहस्पतिबाट मानप्रतिष्ठान, ख्याती, धमृ, कर्म, विवाह, पुत्र विधा, बुद्धि धनधान्यादी, तथा शुभफलहरुको विचार गरिन्छ भने शुक्रबाट विवाह, सुख, दुःख, स्नेह, प्रताप, सौन्दर्य, स्त्रीसुख, काव्यकला, प्रमोद, कामक्रिडाका बारेमा फलादेश गरिन्छ । शनिग्रहबाट स्लेस, सुख, अनेक पीडा, मृत्यू, आतंक, र विभिन्न दुःखकष्टका बारेमा फलादेश गरिन्छ र राहु र केतु जुन भावमा रहेका हुन्छन् त्यस भावमा अशुभ फल नै प्रदान गर्दछन् । विशेष गरी यहाँ केही महत्वपूर्ण तथा सांकेतिक रुपमा उल्लेख गर्ने कोसिस गरिएको छ । यसलाई विस्तृतमा उल्लेख गर्दा धेरै लामो हुने भएकाले पनि यसलाई संक्षिप्तमा उल्लेख गर्ने कोसिस गरेका हौ ।

बेदव्यासले बेदको रचना गरे । त्यो वेदभित्र सबै कुरा समेटे । अनि त्यही वेदको आँखाको रुपमा ज्योतिषशास्त्रको व्याख्या र विश्लेषण गरे । तर त्यो यस्तो बुद्धिमत्ताका साथ साधना गरे कि जुन कहिल्यै पनि फेल भएन अर्थात असफल भएन । त्यही आँखाले अहिले पनि हामी ग्रहमण्डलको बारेमा विचार गर्ने गर्दछौ । तिनै ग्रहमण्डलले हाम्रो जीवनमा शुभ अुशभ फलहरु प्रदान गर्ने गर्दछन् । मुनिहरुले ध्यान गरे भने ऋषिहरुले साधना गरे । मुनिहरुले गरेको ध्यान र ऋषिहरुले गरेको साधनाबाट शास्त्रहरुको निर्माण गरियो । ग्रह मण्डलमा पनि सबैको अधिकारको बारेमा जिम्मेवारी दिइयो । जसमा सूर्य र चन्द्रमा राजा भए मंगल सेनापति भए, बुध युवराज भए, बृहस्पति र शुक्र मन्त्री भए, शनि दास भए । अर्थात् भन्नुको मतलब कुन ग्रह उच्च छ कुन बलवान छ त्यसले हाम्रो जीवनकालमा त्यस्तै प्रभाव पार्दछ । जस्तै सूर्य उच्च भएमा धनि बनाउँछ भने चन्द्रमा उच्च भएमा भोगी बनाउँछ । मंगल उच्च भएमा धनि बनाउँछ भने बुध उच्च भएमा राजनेता बनाउँछ । गुरु उच्च भएमा मण्डलाधिपति बनाउँछ भने शुक्र उच्च भएमा राजा बनाउँछ शनि उच्च भएमा चक्रवर्ती बनाउँछ ।

हामीलाई सोधिने प्रश्नहरुको जिज्ञासा मेटाउने कोसिस निरन्तर हामी गर्ने नै छौ । हामीसँग भेटेर वा कुरा गरेर हामीले जति विस्तृतमा ती जिज्ञासालाई मेटाउन सक्छौ त्यत्ति विस्तृतमा यो लेखमा लेखेरै मेटाउन सकिदैन हामीलाई यो थाह छ । तरपनि केही हदसम्म भएपनि हाम्रो प्रयास हो । यसबाट हाम्रा पाठकहरुलाई थोरै भएपनि लाभ पुग्ने विश्वास लिएका छौ । यसैगरी हामीलाई बारम्बार सोधिने अर्के प्रश्न हो कुन भगवानलाई के चढाउनु पर्छ वा कुन भगवानलाई के चढाउनु हुँदैन ? हामीले यसभन्दा अघिल्ला लेखहरुमा भनेका छौ कि वेद एउटा थियो । त्यसका दुई भेद भए एउटा कर्मकाण्ड र अर्को ज्ञानकाण्ड । पछि सहजताका लागि वेदलाई चार भागमा विभाजित गरियो । भगवानको पूजा गर्नु, पितृहरुको पूजा गर्नु यो खास कर्मकाण्ड अन्तर्गत गर्दछ । जुन मन्त्रमा तथा कर्ममा सिमित हुन्छ । तर ज्ञानकाण्ड साधनामा अर्थात् गणितमा आधारित हुन्छ । तरपनि हामीलाई ज्ञात भएका विषयवस्तुमा तपाईका जिज्ञासा मेटाउनु हाम्रो धर्म हो । यस जिज्ञासालाई पनि मेटाउने कोसिस गरेका छौ ।

नाक्षतैरर्चयेद्विष्णुं न तुलस्या गजाननम्
न दुर्वया यजेद्देवी विल्वपत्रैश्च भाष्करम्
उन्मत्तमकंपुष्पं च विष्णेर्वज्र्य सदा बुधैः ।
यसको स्पष्ट अर्थ के हो भने, चामलका अक्षताले विष्णुलाई तुलसीले गणेशलाई दुबोले देवीलाई बेलपत्रले सूर्यलाई पूजा गर्नु हुँदैन । धतुरो र आँकको फूल विष्णुलाई सदा बर्जित छ । यसैगरी (नोन्मत्तेन दिवाकरम्) यो वाक्यले धतुराको फूल सूयपनि चढाउनु हुँदैन भनेको छ । ख्याल गर्नुपर्ने कुरा के भने विना तिलको तर्पण र पितृकार्य निष्फल हुन्छ । विना तुलसी र पुरुषसुक्तको विष्णुपूजा, विना विल्वपत्र र जलधाराको शिवपूजा, विना मिष्ठान्न र दक्षिणाको ब्राह्मण भोजनपनि निष्फल हुन्छ । यसैगरी विना दुबो र गुडको गणेशपूजा, विना रक्तपुष्प र अर्घको सूर्यपूजा पनि निष्फल हुन्छ । रातो फूल र रातो चन्दन विनाको दुर्गापूजा निष्फल हुन्छ भने विना कुश र तिलकको ब्राह्मणको सन्ध्या पनि निष्फल हुने कुरा शास्त्रमा कहिएको छ । (बृहद्ज्योतिषार, बेलापञ्चाङ्ग एवम् गुरुमुखबाटः लेखक)