Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

कोरोनालाई हेलचक्रयाँई नगरौं

कोरोनाको लहरले फेरी संक्रमण बढाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रकोप फैलिएको छ । तरपनि सर्वसाधारणहरु सचेत भएको देखिँदैन । बजारमा हुने भीडभाडदेखि विभिन्न राजनीतिक दलका सभा तथा सम्मेलनहरु भइरहेका छन् भने सरकारले विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि ट्यूसन तथा ल्याङ्वेज कक्षाहरु निर्वाध रुपमा संचालन भइरहेका छन् । यसले गर्दा कोरोनाको संक्रमण झनै बढाउने निश्चित जस्तै छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसपार्कमा मात्र मान्छेको भीड होइन सरकारी कार्यालयहरुमा समेत त्यस्तै भीडभाड छ । भौतिक दुरी कायम गर्नु पर्नेदेखि स्वास्थ्यका मापदण्डहरुको पालना गर्नुपर्नेमा खासै त्यस्तो पालना गरेको पाइँदैन । जसले गर्दा कोरोनाको संक्रमण फैलिने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरु लर्को लागेर फर्किरहेका छन् । न उनीहरुको परीक्षण हुने गरेको छ भने न क्वारेन्टाइनको व्यवस्थापन भएको छ । जसको कारण उनीहरु निर्वाध रुपमा घर पुगिरहेका छन् । भारतमा कोरोनाको प्र्रकोप बढेसँगै नेपाल फर्किन थालेका नेपाली दाजुभाइहरु आफूहरुसँग कोरोना बोकेर आएको खण्डमा घरपरिवारदेखि समाजलाई नै कोरोनाबाट ग्रसित गराउन सक्ने डरलाग्दो अवस्था एकातिर छ भने अर्कोतिर प्रदेश सरकारदेखि स्थानीय सरकारहरुले समेत कोरोना व्यवस्थापनका लागि ध्यान दिएका छैनन् । जब प¥यो राती तब बुढी ताती भन्ने उखानलाई चरितार्थ गर्ने पुरानै शैलीलाई आत्मसाथ गर्ने देखिन्छ । कोरोना फैलिइसकेपछि त्यसको उपचारमा लाग्नु र खर्च गर्नु भन्दा कोरोनालाई फैलिन नदिनु नै बुद्धिमानी हो भन्ने कुरालाई सरोकारवालाहरुले बुझ्न जरुरी छ ।

कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि स्वयम् नागरिकहरु नै बढि सचेत हुनुपर्ने देखिन्छ । सरकारले तोकेका मापदण्डहरु पूरा नगर्ने अनि सरकारले व्यवस्थापन गरेन भनेर दोष दिनुको साटो कोरोना संक्रमणबाट आफू कसरी बच्ने र आफ्नालाई कसरी बचाउने भन्ने बारेमा नागरिक सचेत भएको खण्डमा अप्रिय घटनाको शिकार हुन पर्दैन भन्ने कुरालाई बुझ्नु जरुरी छ । सरोकारवाला निकायहरुले पनि स्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न आवश्यक छ । प्रायः माघदेखि जेठ महिनाको समयमा कोरोनाको संक्रमणले तिब्रता लिएको देखिने भएकाले फेरी पनि यो समयमा सचेत हुनु पर्दछ । यदि हामीले कोरोना केही होइन भनेर हेलचक्र्याँई गरेको खण्डमा कोरोनाले दुःखद स्थितिको श्रृजना गर्न सक्दछ भन्ने कुराको जानकारी राख्नु आवश्यक छ भने कोरोना लागि हालेमा त्यसलाई जित्नका लागि अपनाउनु पर्ने सतर्कताका बारेमा पनि ख्याल गर्न आवश्यक छ ।