Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

भूमिहिनलाई लालपूर्जा कहिले ?

नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपश्चात विभिन्न समयमा विभिन्न व्यक्तिहरुको नेतृत्वमा भूमि व्यवस्था आयोगहरु बने । राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुरुप बनाउने यस्ता आयोगहरुले खासै प्रभावकारी कामहरु भने गर्न सकेनन् । एउटा राजनीतिक दलको सरकार बनेको बेलामा आफ्नो दलको समर्थकलाई आयोगमा ल्याउने र अर्को दलको सरकार आएपछि अघिल्लो सरकारले गरेका कार्यहरु उल्ट्याउने गर्नले पनि भूमिहिनहरुले लालपूर्जा पाएर जग्गाधनी बन्ने योजना सपना जस्तै हुने गरेको २०४८ सालदेखि आजसम्म जस्ताको त्यस्तै छ । पछिल्लो समयमा बनेको गठबन्धनको सरकारले पनि नयाँ व्यक्तिहरुलाई भूमि व्यवस्था आयोगमा ल्याएको छ । आयोगमा आउनेहरुले सरकारी भत्ता मात्र खाँदैनन् भूमिहिनहरुलाई लालपूर्जा समेत बाँड्छौ भनेर आश्वासन दिन्छन् । त्यसरी दिएका आश्वासनहरु भने अहिलेसम्म पूरा भएका छैनन् ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका भित्र पनि हजारौमा संख्यामा भूमिहिनहरु छन् । कुनै समयमा बसोबास व्यवस्थापनका लागि भन्दै सेतो पूर्जा दिएका र सेतो पूर्जा समेत नभएका वीरेन्द्रनगर नगरपालिका भित्रका स्थानीयहरु पनि लालपूर्जा पाइने हो कि भन्ने आशमा बसेको धेरै वर्ष भइसक्यो । आफ्नै जग्गाको पूर्जा नहुँदा जग्गाको बेचविखनदेखि ऋणको प्रयोजनमा समेत उक्त जग्गाले मान्यता नपाएपछि एकातिर समस्या खेपिरहनु परेको छ भने अर्को तिर कतिपय अंशबण्डाका कार्यहरुमा समेत कतै दाजुबाट भाइ त कतै श्रीमान्बाट श्रीमती समेत पीडित हुनु परेको छ । यस्ता समस्याबाट छुटकारा पाइएला कि भनेर कुरिरहेकाहरु देश संघियतामा गएपछि केही हौसियका थिए । किनकी स्थानीय सरकारदेखि प्रदेश सरकारले समेत सिंह दरबारको अधिकार नै प्रयोग गर्ने भएपछि आफू बसेको जग्गाको पूर्जा पाइएला भन्ने थियो । तर प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पनि खासै कार्य गर्न सकेन ।

पछिल्लो समयमा बनेको भूमि व्यवस्था आयोगले भने पूर्जा दिने हो कि भन्ने आश अझै बढेर गएको छ । किनकी यो भन्दा अघिल्लो आयोगले जग्गाको लगत संकलन गरेको र त्यसैलाई आधार मानेर कानून बमोजिम पूर्जा वितरणको कार्य गर्ने हो कि भन्ने छ । किनकी आउँदो वैशाख ३० गतेलाई सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ भने यो समयमा पूर्जा वितरण गरेर त्यसलाई भोटमा क्यास गर्न सकिन्छ कि भन्ने पनि लागेको हुनसक्छ । राजनीतिक दलले कुनैपनि स्वार्थ नराखी भूमिहिनहरुलाई पूजा दिन आवश्यक छ । सम्पूर्ण भूमिहिन तथा पूर्जाविहिनहरुको एउटै प्रश्न छ हामीले लालपूर्जा कहिले पाउने ?