Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

सुर्खेत उद्योग वाणिज्य संघमा फेरी सदस्यता किचलो

सुर्खेत ।
सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन अगाडि फेरी सदस्यताको विषयलाई लिएर किचलो सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले प्रायः सबै निर्वाचनहरुमा सदस्यता विवाद झिकेर किचलो गर्ने गर्दछ । जुन यसपटक पनि दोहोरिएको छ । निर्वाचनको परिणम आफ्नो पकडमा पार्नका लागि संघ दुई खेमामा विभाजन भइ सदस्यता विवाद उत्पन्न गराई किचलो झिक्ने गरिएको हो ।


यस पटक पनि सदस्यता नविकरणको विवाद उत्पन्न गराइएको छ । अध्यक्ष धनबहादुर रावत नेतृत्वको वर्तमान कार्यसमितिले आगामी चैत २६ गते संघको निर्वाचन मिति घोषणा गरेको छ । मिति घोषणा गरेलगत्तै केही असन्तुष्ट व्यवसायीहरुले धेरै सदस्यहरुको सदस्यता नविकरण गर्न छुटेको भन्दै तालावन्दीसमेत गरेका छन् । पुराना सदस्यहरुको नविकरण गर्न छुटाइएको र नयाँ सदस्यता वर्तमान समितिले एकलौटीरुपमा थपेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

असन्तुष्ट पक्षमा संघका वर्तमान बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, कार्यसमिति सदस्यहरु राजु पाण्डे, जनकबहादुर थापा, सिंहराज बमलगायत छन् । साथै क्यान महासंघका पूर्व प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, खड्कबहादुर शाही, रेशम ढकाललगायतले साथ दिएका छन् । शनिवार पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षका तर्फबाट पूर्णदेव अधिकारीले कोभिडका कारण आफूलगायत करिव १५ सय सदस्यहरुको सदस्यता नविकरण छुटेको दावी गर्दै उनले सदस्यता नविकरण गर्न पाउनुपर्ने माग गर्नुभएको छ ।

उहाँले विधानमा भएको व्यवस्थालाई विशेष साधारणसभाबाट नविकरण छुट भएको करिव १५ सय बढी व्यवसायीहरुको सदस्यता नविकरणको लागि व्यवस्था मिलाउनुपर्ने, विधानको व्यवस्था विपरित नविकरणमा दिइएको छुटको सोधभर्ना गरी विधान अनुसार गर्नुपर्ने, संघले तीन वर्षको साधारणसभा एकै पटक गरेकाले उक्त साधारणसभा अवैधानिक भएको हुँदा विधानमा व्यवस्था भए अनुसार साधारणसभा गर्नुपर्ने माग राखिएको बताउनु भयो ।

त्यसैगरी एकलौटी रुपमा तोकिएको निर्वाचन संयोजकले निष्पक्ष निर्वाचन गराउन नसक्ने हुँदा सर्वपक्षीय निर्वाचन समिति गठन गर्नुपर्ने, संस्थामा भएको अपारदर्शी आय–व्ययलाई पारदर्शी बनाइनुपर्ने, संघमा भएको गैर सदस्यहरुको सदस्यता छानविन गर्नुपर्ने र मेला महोत्सवको हालसम्म नभएको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेका छन् । आफ्ना मागहरु सम्बोधनका लागि संघमा ध्यानाकर्षण गराएपनि समितिले कुनै सुनुवाई नगरेको हुँदा तालावन्दी गर्नुपर्ने अधिकारीले बताउनु भयो ।

यता सुर्खेत उद्योग बाणिज्य संघले भने असन्तुष्ट पक्षले गरेको तालावन्दीप्रति ध्यानकर्षण भएको जनाएको छ । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा हस्तारित संयुक्त विज्ञप्तिमा २०७३ सालमा भएको साधारणसभाले नै गरेको विधान संशोधन अनुसार दुई आर्थिक वर्षसम्म सदस्यता नविकरण नगर्ने सदस्यको सदस्यता स्वतः निष्क्रिय हुने र नविकरण गर्न चाहेको अवस्थामा निश्चित शुल्क तिरी नविकरण गराएको खण्डमा पुनः सदस्यता सक्रिय हुने जनाइएको छ । असन्तुष्ट पक्षधरले भने अनुसार सदस्यता नविरकण नभएका सदस्यहरुको सदस्यता नै खारेज भएको भन्ने गलत र भ्रामक अवधारणा बाहिर आएको हुँदा यस्ता झुटा धारणामा विश्वास नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा सदस्यता नविकरण गर्न चाहने सदस्यहरुले लागि संघको ढोका अहिले पनि खुला रहेको जानकारी दिदैं तालावन्दी जस्ता कार्यहरु नगर्न अपिल गरिएको छ । संघमा देखिएका असमझदारीहरु संघको विधानको दायरामा रहेर समस्या समाधान गर्न संघ सदैव तयार रहेको पनि उल्लेख छ ।