वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनको घरदैलो अभियान
सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएको ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’ले चुनाव लक्षित भेटघाट गरिरहेको छ। समूहले बुधवार पूर्वी सुर्खेतका विभिन्न ठाउँमा पुगेर व्यवसायीहरुसँग भेटघाट गरिरहेको छ।
समूहको नेतृत्व गरेका सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्का, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत तथा विभागीय उपाध्यक्षका उम्मेदवार, महासचिवका उम्मेदवार रामप्रसाद जैसी (राजु) लगायतका सबै उम्मेदवारहरु निर्वाचन लक्षित भेटघाटमा छन्।
यसैक्रममा छिन्चुमा आयोजना गरिएको भेटघाटमा अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्काले जिल्लाका सबै व्यवसायीहरुलाई संघभित्र अटाएर साझा संस्था बनाउन आफू प्रतिबद्ध रहेको बताए।
‘अहिले व्यवसायीहरु मतदान गर्ने अधिकारबाट बञ्चित हुनु ठूलो समस्याका रुपमा देखिएको छ, यसमा पनि अहिलेको चुनावमा पदाधिकारीबाटै भएको असहयोग अर्को समस्या हो,’ खड्काले भने, ‘हाम्रो गठबन्धनलाई नेतृत्वमा पुर्याऔं, यस्ता समस्याहरु आगामी दिनमा आउन दिने छैनौं।’
उनले सबै पालिकामा उद्योग वाणिज्य संघको शाखा विस्तार गरी व्यवसायीका हकहितमा अग्रसर नेतृत्व स्थापित गर्ने प्रतिबद्धता समेत जनाए। नेपाली काँग्रेसका कर्णाली प्रदेश सदस्य मानबहादुर बुढामगरले गठबन्धन गरी चुनाव लडेको समूह सक्रिय भएर लाग्न आग्रह गरे। उनले खड्काले नेतृत्व गरेको समूहलाई पार्टी नेतृत्वको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।
सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि वैशाख ४ गते हुने चुनावमा दुईवटा समूह चुनावी मैदानमा छन्।
खड्काको नेतृत्वमा चुनाव लडेको बृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनको विरुद्ध लक्ष्मण कँडेल नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएको छ।







