Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

वीरेन्द्रनगर नगरपालिकामा ११ वटा वडासहित प्रमुख उपप्रमुखमा एमालेको सानदार जीत

कुन वडामा क–कसले जिते

सुर्खेत ।
स्थानीय तहको निर्वाचन २०७९ मा कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई महत्वका साथ हेरिएको थियो । यस नगरपालिकामा एमालेले ११ वटा वडाहरुसहित प्रमुख र उपप्रमुखसमेतमा जित हात पारेको छ ।


नगरप्रमुखमा मोहनमाया ढकालले १६ हजार ३८ मतका साथ जीत हात पारिन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मतमै चित्त बुझाउनु परेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा भने नेपाली काँग्रेसले जित हात पारेको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका दिनेश खत्रीले १ हजार ३७५ मत प्राप्त गरेर विजय प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी तथा पूर्व वडाअध्यक्ष गंगाराम सुनारले १ हजार ३४४ मै चित्त बुझाउनु परेको छ । तर उक्त वडामा २ जना सदस्य, दलित महिला सदस्य र महिला सदस्यमा भने एमालेले जित हात पारेको छ । यसैगरी २ नं. वडामा एमालेका गजबहादुर बुढा क्षेत्रीले १ हजार ७२५ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका शेरबहादुर अधिकारीले १ हजार ५४९ मै चित्त बुझाउनु परेको छ । २ जना वडा सदस्य, महिला सदस्य तथा दलित महिला सदस्यमा समेत एमालेले नै जित हात पारेको छ ।

वडा नंं ३ मा एमालेका बिनोद सिंह विष्ट १ हजार ४१२ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शैलेन्द्रकुमार भारतीले १ हजार २८८ मत प्राप्त गरेका छन् । महिला सदस्य, दलित महिला सदस्य तथा २ जना वडा सदस्यमा नेपाली काँग्रेसले जित हात पारेको छ । वडा नं. ४ मा एमालेका शेर बहादुर केसीले १ हजार ५४१ मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका गोविन्द प्रसाद शर्मा १ हजार २७६ मत मात्र प्राप्त गरि पराजित भएका छन् । महिला सदस्य, दलित महिला सदस्य र २ जना वडा सदस्यमा समेत एमालेले जित हात पारेको छ । यसैगरी वडा नं. ५ मा एमालेका लोकबहादुर शाहीले १ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका राजबहादुर गुरुङ्गले ७०१ मत मात्र प्राप्त गरेका छन् । उनी पूर्ववडाध्यक्ष समेत हुन् । महिला सदस्य, दलित महिला सदस्य र २ जना वडा सदस्यमा समेत एमालेले नै जित हात पारेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको मुटुको रुपमा चिनिएको वडा नं. ६ मा भने नेपाली काँग्रेसले जित हात पारेको छ । वडा नं. ६ मा जनक बहादुर रावलले ९०४ मत प्राप्त गरि विजयी भएका छन् भने एमालेका श्यामलाल कँडेलले ७५८ मत प्राप्त गरेका छन् । महिला सदस्य, दलित महिला सदस्य र २ जना वडा सदस्यमा पनि काँग्रेसले आफ्नो सिट सुरक्षित गरेको छ । वडा नं. ७ मा नेपाली काँग्रेसका धु्रबकुमार चपाइँले १ हजार ४१९ मत प्राप्त गरी विजयी हुँदा एमालेका खड्गबहादुर दर्लामीले ३८८ मतमै चित्त बुझाउनु परेको छ । महिला सदस्य, दलित महिला सदस्य र २ जना वडा सदस्यमा पनि नेपाली काँग्रेसले जित हात पारेको छ । यसैगरी वडा नं. ८ मा एमालेका टीकाराम शर्माले नेपाली काँग्रेसका जयबहादुर थापा क्षेत्रीलाई पछि पारेर ९४८ मतका साथ विजयी भएका छन् भने जयबहादुर थापाले ८१६ मतमै चित्त बुझाउनु परेको छ । महिला सदस्यमा नेपाली काँग्रेस दलित महिला सदस्यमा एमाले र २ जना वडा सदस्यमा एमालेले नै जित हात पारेको छ । वडा नं. ९ मा एमालेका ऋषि गिरी १ हजार ३१७ मतका विजय हात पारेका छन् भने नेपाली काँग्रेसका सुरेश मानन्धरले १ हजार १३५ मै चित्त बुझाए । वडाका अन्य सदस्यहरु समेत एमालेले नै जितेको छ । वडा नं. १० मा एमालेका डिलबहादुर रखालले नेपाली काँग्रेसका रविन्द्रजंग शाहीलाई पराजित गरेका छन् । महिला सदस्य, दलित महिला सदस्य तथा २ जना वडा सदस्यमा समेत एमालेले जित हात पारेको छ ।

वडा नं. ११ मा एमालेका खिमलाल देवकोटाले १ हजार ८७१ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका कूलबहादुर खत्रीले १ हजार ८६५ मत प्राप्त गरेका छन् । महिला सदस्य, दलित महिला सदस्य तथा २ जना वडा सदस्यमा समेत एमालेले जित हात पारेको छ । वडा नंं १२ मा एमालेका चुडामणी चपाईले २ हजार २५७ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका बेद प्रकाश ढकालले ९७६ मतमै चित्त बुझाउनु परेको छ । यसैगरी महिला सदस्य दलित महिला सदस्य र २ जना वडा सदस्यमा पनि एमालेले नै जित हात पारेको छ । वडा नं. १३ मा नेपाली काँग्रेसका दीपेन्द्रराज कोइरालाले १ हजार १८६ मतले विजयी हात पारेका छन् भने एमालेका भुपेन्द्र बहादुर दर्लामीले १ हजार ३१ मत मात्र प्राप्त गरेका छन् । महिला सदस्य दलित महिला सदस्य र १ जना वडा सदस्यमा नेपाली काँग्रेसले जित हात पारेपनि एक जना सदस्य भने एमालेले जितेको छ । वडा नंं १४ मा एमालेका देव बहादुर रोकायले ५४५ मत प्राप्त गरी जित हात पारेका छन् भने नेपाली काँग्रेसका विरु थापाले ५१२ मतमा चित्त बुझाएका छन् ।

महिला सदस्य दलित महिला सदस्य र एक वडा सदस्य एमालेले जितेपनि एक वडा सदस्यमा नेपाली काँग्रेसले जितेको छ । वडा नंं १५ मा नेपाली काँग्रेसका कृष्णबहादुर थापा मगरले ४८९ मत प्राप्त गरी विजयी भएका छन् भने एमालेका हिक्मत बहादुर वलीले ३३० मत प्राप्त गरी पराजय भएका छन् । महिला सदस्य दलित महिला सदस्य र २ जना वडा सदस्यमा समेत नेपाली काँग्रेसले जित हात पारेको छ । र वडा नं. १६ मा एमालेका डण्ड बहादुर विश्वकर्माले ६०८ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका पूर्ण बहादुर ढकालले ५८३ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमाले दलित महिला सदस्यमा नेपाली काँग्रेस र २ जना वडा सदस्यमा एक नेपाली काँग्रेस र एक एमालेले हात पारेका छन् ।

यसैगरी वीरेन्द्रनगर नगरपालिकामा राप्रपाले तेस्रो स्थान ओगट्न सफल भएको छ । राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका मुकुन्दश्याम गिरीले १० हजार ६ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा नगरप्रमुखमा ५५७ मत प्राप्त गरेको थियो ।