सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजयी
सुर्खेत ।
जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनले जीत हात पारेको छ । आज भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानलै विजयी भएको हो ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटे समन्वय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।
जिसस प्रमुखमा निर्वाचन भएका सुनार वडा नं. १ को वडाअध्यक्षमा पराजित भएका थिए । तर नगरकार्यपालिका सदस्य बनेका उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचन भएका छन् । जनताले वडाअध्यक्षमै हराएको भएपनि नेताहरुले भने कार्यपालिका हुँदै जिसससम्म उनलाई पत्याएका छन् ।







