Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

सत्ता र शक्तिको आडमा विद्वान बन्न सकिदैन

देशमा बहुदलिय प्रजातन्त्रको स्थापना भइसकेपछि धेरै ठाउँहरुमा सत्ता र शक्तिको आडमा पुग्ने प्रचलनले प्रश्रय पाउँदै गयो । गणतन्त्रको स्थापना पश्चात त यो कार्यले झनै झाँगिने मौका पायो । सत्ता र शक्तिको प्रयोग कतिबेला र कुन स्थानमा गर्ने भन्ने बारेमा ज्ञान नै नराखी तातै खाउँ जलि मरिजाउँ गर्नेहरुले असल स्थानहरुलाई पनि कमसल बनाइदिए । त्यसको एउटा ठूलो असर सर्वसाधारण जनमानसमा परिरहेको छ । सत्ताको संचालन गर्नेहरु र शक्तिको चक्रमा रहनेहरुले यसलाई बेलैमा सच्चाएनन् भने भविष्यमा पछुताएर मात्र केही हुनेवाला छैन भन्ने हेक्का राख्नु जरुरी छ ।

ज्यो.पं. गंगाप्रसाद ढुंगाना

पछिल्लो समयमा नेपालमा प्रकाशित हुने पञ्चाङ्गहरुमा विभिन्न विवादहरु आउन थालेका छन् । गुरुकूल अध्ययनबाट माथि उठ्न नसकेको ज्योतिष ज्ञानको संरक्षण, विस्तार विकास गर्नका लागि नेपाल सरकारले चासो नै देखाएको छैन । कुनै समयमा राजाहरुले कूलगुरुको रुपमा मानेका विद्वानहरुले तयार गरेका पञ्चाङ्गलगायतका विषयलाई समेत संरक्षण गर्ने तर्फ कुनै सोच राख्न नसक्नु उपेक्षा हो वा उपहास ? तरपनि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत गठन आदेशबाट तयार भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति आएपछि अलिकति आशा पलाउनु स्वभाविक हो । तर गरेको आशा पनि बालुवामा पानी खन्याए झैँ भयो ।

नेपाल सरकारको आधिकारिक विकास समितिको रुपमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समेत शुद्ध पञ्चाङ्ग दिन नसकेको र स्वतन्त्र रुपमा प्रकाशित हुने पञ्चाङ्गहरुलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकार्न नसक्ने अवस्थाका कारण पञ्चाङ्गहरुमा विवाद आउने गरेको छ । तर त्यसरी आएका विवादहरुलाई समाधान गर्ने जिम्मेवारी बोकेको नेपाल पञ्चाङ्ग निर्णायक सिमितिले समेत त्यसको निराकरण गर्न सकेको छैन । त्यसको प्रमुख कारण हो विद्वताका कारण नभई सत्ता र शक्तिका आडमा त्यो स्थानमा पुग्नु । आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गर्नेहरुले असली पञ्चाङ्ग गणितको बारेमा जानकारी नै राख्न सक्दैनन् भने तिनले अरुलाई के शिक्षा दिन सक्छन् । उनीहरुले सत्ताको आडमा बसेर शुद्ध पञ्चाङ्गलाई स्वीकृत नदेलान् तर हातै समात्ने अधिकार त छैन । यदि हातै समात्ने हिम्मत राख्छन् भने यही लेख मार्फत खुला रुपमा चुनौति दिन चाहान्छु आउनुहोस् टेवलमा बसेर तपाईहरुलाई नियुक्त गर्ने सरकारी निकायका व्यक्तिहरु, अन्तराष्ट्रियस्तरका विद्वानहरुलाई अगाडि राखेर बहस गरौं । मौखिक बहस गर्न यो चुनौति होइन हिसाबमा गरौ बहस हिसावमा ।

वर्ष २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पञ्चाङ्गहरुलाई स्वीकृति दियो । तर के स्वीकृती पाएर प्रकाशित भएका पञ्चाङ्गहरु सबै ठीक छन् त ? गम्भीर प्रश्न ते¥याउन चाहान्छु । त्यसका अलावा ज्वाला पञ्चाङ्ग, नेपाल पञ्चाङ्ग तथा मुक्तिनाथ पञ्चाङ्गहरु समेत प्रकाशित भएका छन् । पञ्चाङ्ग निर्णायक समितिले स्वीकृती नलिई क्यालेण्डर समेत प्रकाशन गर्न नपाउने सूचना प्रकाशित गरेको थियो । खै कत्तिले लिए स्वीकृती ? क्यालेण्डरलाई स्वीकृती दिए वापत उठाइने भनेको रकम कति उठ्यो र त्यो कहाँ जम्मा हुन्छ कुन ढंगबाट खर्च हुन्छ ? जेठको आधा समय वितिसक्दा पनि त्यसको कुनै रेकर्ड नै सार्वजनिक गर्नु पर्छ कि पर्दैन ? समितिले नै सही गणित तयार गर्न नसक्ने अनि स्वतन्त्र रुपमा पञ्चाङ्ग प्रकाशित गर्दै आएका ज्योतिषविज्ञहरुले पञ्चाङ्ग प्रकाशन गर्दा अनेक खालका विज्ञप्ति प्रकाशन गर्ने ? लाजको पसारो । समितिले स्वीकृती दिएर प्रकाशन भएका पञ्चाङ्गहरु नै अशुद्ध छन् म दाबाका साथ भन्छु अनि प्रमाण पनि दिन्छु ।

चाड, पर्व, तिथि, नक्षत्र, ब्रत, जात्रा, मुहुर्तदेखि ग्रहहरुको स्थिति, गति, बक्री, मार्गी र ग्रहणहरु जस्ता महत्वपूर्ण विषयलाई गणितको माध्यमबाट स्पष्ट गर्नुपर्ने हुन्छ । तर सरकारी सम्पत्तिको रुपमा रहेको पञ्चाङ्ग निर्णायक समितिले समेत कुनै स्पष्ट सिद्धान्तको भन्दापनि मनगढन्ते सिद्धान्त बनाई अरुलाई भ्रममा राख्ने कार्य गर्नु सिंगो ज्योतिषशास्त्र माथिकै ज्यादती हो । जसको बलियो प्रमाणको रुपमा केहीदिन अघि मात्र नेपाल पञ्चाङ्ग निर्णायक समितिको तर्फबाट तिथि, गति र स्पष्टलाई मिलान गर्न आवश्यक भएको भन्दै प्रकाशित भएको विज्ञप्ति पनि हो । यसैगरी समितिका कार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलज्यूले समितिको नाममा गरेका अनियमितताको बारेमा विभिन्न मिडियामा समाचार समेत प्रकाशित भइरहेका छन् ।

यस सम्बन्धमा किन यस्तो खालको विवादको सिर्जना भयो ? एकरुपता ल्याउन के गर्नुपर्छ ? यसको समाधानको बाटो के हो ? भन्ने सोच्नुको साटो झन निरंकुशी पारा देखाउनुले पनि ज्योतिष विधा माथिको अपमान भएको छ । समितिले स्वीकृती दिएका हुन् वा नदिएका हुन् जसले स्पष्ट गणित गरेर पञ्चाङ्गको निर्माण गरेका छन् तिनीहरुलाई हामी मान्दछौ । तर पद र शक्तिको आडमा बसेर स्वीकृतीको नाममा गणित नै गलत गर्नेहरुले जे भनेपनि हामी मान्नेवाला छैनौ ।

सूर्य सिद्धान्त ज्योतिषको मूल सिद्धान्त हो । भास्वती, केतकी, ग्रहलाघवम्, खण्डखाद्य वा मकरान्त जुनसुकै सिद्धान्त अनुसार गणित गरेपनि उत्तर त एउटै आउनु पर्ने हो । किनकी कुनैपनि गणितमा १ मा १ जोडे २ नै हुन्छ तर यहाँ मनगढन्ते सिद्धान्तको प्रयोग गरेर १ मा १ जोडे साढे १ बनाउने कार्य भइरहेको छ । त्यो लज्जाजनक छ । म त्यसको विरोधी हुँ ।

नेपालमा कहाँ र कहिलेदेखि पञ्चाङ्ग प्रकाशनमा आएको हो भन्ने इतिहासलाई हेर्दा सम्वत १९४० अगावै गुरुकूलमा अध्यायन गरी ज्योतिषी गणकहरुले पात्रो पजनी (लेख्दै) गर्दै आएकोमा १९४२ सालमा श्री ५ सुरेन्द्र राजाको पालामा उक्त राजाले ज्योतिषी विधाको विश्वास मानि आउँदो सालको पञ्चाङ्ग चैत्र शुक्ल प्रतिपदाको दिन गुरुद्वारा वार्षिक फल समेत सुनेर गुरुदक्षिणा दिएका हुन् । १९४६ मा उक्त राजाकै पालामा श्री ३ चन्द्र शमसेरले पण्डितको सभा गराई अबदेखि यस्तो नहोस् भनि पण्डित हेमराज शर्मालाई पञ्चाङ्ग संशोधन गराउने अभिभारासमेत सुम्पेका थिए । हेमराज शर्माले पञ्चाङ्ग संशोधन गर्दागर्दै वि.सं. १९६१ सालको फाल्गुनमा सक्रान्ति दुई दिन छापिएको र अड्डाखानामा काम गर्न समेत असुविधा भएर पनि त्यो वर्ष त्यत्तिकै व्यतित भएको अध्ययनकर्ताहरुलाई जानकारी नै होला ।

सम्वत १९४६ देखि पं. तोयानाथ पन्तले प्रकाशित गर्दै आइरहेको पञ्चाङ्गले निरन्तरता पाउँदै हाल सूर्यनाथ पन्तद्वारा प्रकाशित हुँदै आइरहेको छ । पन्तलाई पनि श्री ३ चन्द्र शमसेरले पञ्चाङ्ग प्रकाशनका लागि अनुमति दिएका थिए । तर पछिल्लो समयमा समितिको निर्णय भन्दै उक्त पञ्चाङ्गमा समेत त्रुटिहरु फेला पर्न थालेका छन् । यो पनि राम्रो संकेत होइन । सम्वत १९९५ सालमा पशुपति परिसरस्थित वासुकी मन्दिरका नारायण शास्त्री भट्टले अर्को पञ्चाङ्ग प्रकाशित गरे । हेमराज शर्मा नै आधारिक रुपमा पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष हुन् । जसले गणित ज्ञानको क्षमता राख्दथे ।

१९७५ देखि २०८० को बीच समयमा विश्वराम पञ्चाङ्ग र मंगल पञ्चाङ्ग प्रकाशित भएका थिए । १९९५ सालमा मुरारी पाण्डेको पञ्चाङ्ग प्रकाशित भएको देखिन्छ । २००९ मा प्राणनाथ त्रिपाठीको हिमाल पञ्चाङ्ग, २०३८ मा अटोला पञ्चाङ्ग २०४२ मा तारकेश्वर पञ्चाङ्ग, २०५७ मा सूर्य पञ्चाङ्ग २०५८ मा आकाश पञ्चाङ्ग, २०६० मा ज्वालापञ्चाङ्ग, बालाकृष्ण पञ्चाङ्ग र बुद्ध पञ्चाङ्ग प्रकाशित भइ आएका छन् ।

सम्वत २०२१ देखि २०२५ सम्म स्वतन्त्र रुपमा पञ्चाङ्गहरु प्रकाशित भएका थिए । यो समयावधिमा स्वीकृती दिए लिएको देखिँदैन । वि.सं. २०२६ सालदेखि २०३० सम्म पनि यही अवस्था रहिरहयो । २०३४ देखिपछि प्रकाशित भएका पञ्चाङ्गहरुमा श्री ५ को सरकार शिक्षा विभागीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पात्रोको अनुमति दिएको पाइन्छ । २०३५ सालदेखि नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पञ्चाङ्ग संशोधन र स्वीकृतीको कार्य गरेको पाइन्छ । २०३५ देखि २०६२ सालसम्म नेपाल पञ्चाङ्ग समितिको अध्यक्षको रुपमा रहेका गणितीज्ञ डा. मङ्गलराज जोशीको नेतृत्वमा पञ्चाङ्ग निर्माण विधिलाई विशुद्ध शास्त्रीयमतको आधारमा सफल र सार्थक ढंगले संचालन भएको थियो । सम्वत २०६३ देखि २०७० वडागुरु डा. माधव भट्टराई, २०७१ देखि २०७८ सम्म डा. रामचन्द्र गौतम समितिको अध्यक्ष भएका थिए । हाल श्रीकृष्ण अधिकारीज्यू समितिकाअध्यक्षहुनु भएको रहेछ । विगत २०६३ सालदेखि सो समितिबाट स्वीकृती पञ्चाङ्गहरुमा अशुद्धि रहँदै आएको छ । पञ्चाङ्ग निर्णायक समितिको काम पञ्चाङ्गमा भएका अशुद्धिलाई शुद्ध गर्नु गराउनु होला । तर हचुवाको भरमा आसेपासेहरुलाई स्वीकृती दिने तर आम पाठकहरुका लागि के असर पर्छ भनेर केलाउन नै नसक्ने त होइन होला । त्यो पदमा बसिसकेपछि आफ्नो विज्ञतालाई प्रयोग गर्नुपर्ने हुन्छ प्रयोग गर्नका लागि विज्ञता आवश्यक पर्दछ । हालसम्म पनि ज्वाला पञ्चाङ्गले औल्याएका त्रुटिका सम्बन्धमा सरोकारवाला अनुगमन गर्ने निकायले अनुगमन गरेको र त्रुटि सच्याउने तर्फ कुनै कारवाही चालेको देखिदैन । बारम्बार हामीले गरेका गल्ती के छन् देखाउ भनिरहेका छौ । तर हामीले तिमीहरुका गल्ती र कमकमजोरीलाई देखाइ दिएका छौ ति सच्याउ भन्दा पनि सच्चाउन नसक्नु निकम्मापना होइन र ?

समितिले स्वीकृती दिएका पञ्चाङ्गहरुमा २०६३ सालमा ग्रह राजा मंगल हुनु पर्नेमा उक्त समितिले चन्द्रमा लेखि प्रचार गरेको थियो । २०६६ सालमा शुक्र अस्त हुँदाहुँदैको समयमा मंसिर २४ र २७ गते, माघ २४ गते विवाहको साइतदिई उक्त साइतमा सयौको संख्यामा जन र धनको क्षति भएको सबैलाई जानकारी नै छ । पर्व सुधार गर्ने भन्दै २०६६ मा ११ महिनाको वर्ष निर्माण गरी नेपाल सरकारबाट पारित गराए पनि उक्त कुरा लागु हुन नसकेको कसैका सामु छिपेको छैन ।

२०७२ सालमा किलकनाम संवत्सर हुनुपर्नेमा उक्त संवत्सर २ दिन अगावै लुब्धभइ सौम्यनाम संवत्सर प्राप्त भइसकेर लुब्ध संवत्सरको प्रभाव ‘इशान्य मन्दिरं गिरम्’ अर्थात भूकम्प पृथ्वी फाट चट्याँङ्ग आदि कुराहरुबाट धर्तिको क्षतिहुने फललाई ज्वाला पञ्चाङ्गले २०७१ माघ महिनामै प्रकाशन गरेको हो । नभन्दै वैशाख १२ गते विनाशकारी भूकम्प गयो भने भाद्र महिनासम्म पराकम्प गएको सबैलाई जानकारी नै छ । उक्त भूकम्पको विषयमा कुनै कुनै ज्योतिषहरुलाई पाँच महिनाको अन्तरमा जनतालाई तर्साउने उद्देश्यले र आफूले फलादेश गरेको भन्ने ठानी पत्रपत्रिकामा समाचारहरु समेत प्रकाशन नभएका होइनन् । सोही समाचारहरु अनुसार प्रहरीले त्यस्ता ज्योतिषलाई कारवाही गरेको थियो । सोही सालमा विजया दशमीको घटनास्थापन ज्वाला पञ्चाङ्गले आश्विन २७ गते उल्लेख गरेको र समितिका ज्योतिषीले २६ गते अनिश्चित कालमा घटस्थापनाको साइत दिएकाले सोही अनिश्चित कालले तलेजु मन्दिरको घोडा ढोकामा आइ चमत्कारी रुपमा मरेको हो ।

२०७४ साल श्रावण शुक्ल पूर्णिमा श्रावण २३ गते शुक्रबार चन्द्रग्रहण लाग्ने उल्लेख भएपनि चन्द्र ग्रहण नलागेको, नेपाल भन्दाबाहिर लाग्ने चन्द्रग्रहणलाई नेपालमा लाग्छ भनि रक्षाबन्धनको साइत पञ्चमीमा दिएकाले नेपाल सरकारले समेत २ दिन विदा दिनु परेको थियो । तर ज्वाला पञ्चाङ्गका प्रयोगकर्ताहरुले सोही पञ्चाङ्ग अनुसार श्रावण २३ गते ग्रहण नलाग्ने भन्दै पूर्णिमाकै दिन रक्षाबन्धन गरेका जस्ता महत्वपूर्ण उदाहरणहरु हुन् ।

२०७६ सालमा निजहरुले दिएको तिथि साइतको बारेमा सूर्यको १० अंशभित्र पसेमा अस्त र ९ अंश बाहिर गएमा उदय हुन्छ भनि उल्लेख गरेको थियो । तर समितिका कार्यकारी निर्देशक ढुंगेलले सो पत्रिका पढि ए ! ग्रह त १० अंशाको अन्तरमा उदय र अस्त हुँदारहेछन् भन्ने थाह पाएका हुन् । जुन कुरा ज्वाला पञ्चाङ्गले उल्लेख गरेको थियो । भाद्र २३ गतेदेखि सोही कुरा काठमाडौ डिल्लीबजार कालिका मन्दिरमा भएको ज्योतिष सम्मेलनमा ढुंगेलले ग्रह अस्त र उदयको सूचना भाषण गरेका थिए । तत्काल उनको पात्रोमा हेर्र्दा १४ अंशा र ४ अंशाको दुरीमा अस्त र उदय बनाएका थिए । आफ्नो पात्रोमा उल्लेख गर्न नसक्ने अनि अर्काले लेखिदिएको कुरालाई आफूले भाषणबाजी गर्ने कस्ता लाजछाडा ज्योतिष रहेछन् ।

हाल २०७९ सालमा आश्विन २३ गतेदेखि शुक्रग्रहलाई १४ दिन पछाडि अस्त देखाइएको छ । तर भदौ २६ गतेदेखि शुक्र अस्त हुन्छन् । मंसिर ६ गते उदय देखाइएको छ । मंसिर ६ गतेको उदय ठीक छ ।

सम्वत २०६७ मा प्रा.डा रामचन्द्र गौतम अध्यक्ष भएका र हाल प्रा. श्रीकृष्ण अधिकारी पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको रुपमा कार्य गरिरहेका छन् । त्यसमा हाम्रो विमति होइन तर गणित शुद्ध नहुनुमा हाम्रो विपत्ति हो । कसैको व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि फैलाइने भ्रमका खेतीहरु धेरै टिकाउ हुँदैनन् । गणितीय कुरामा कसैले मनोमानी गर्न पाइदैन । विज्ञताका आधारमा भन्दापनि राजनीतिक रुपमा शक्तिमा पुगेकाहरुले गरेका कार्यहरुले गणितको सिद्धान्त, मानव धर्म र गरिमाको विपरित देखिनु दुःखद हो । पञ्चाङ्ग निर्णायक समितिको काम भनेको सरकारको तर्फबाट आउने बजेट माथि रजाँई गर्ने मात्र होइन होला । यसले त ज्योतिष ज्ञानको प्रचार प्रसार, संरक्षण र विकास गर्ने होला । ज्योतिषहरुको उत्पादनका लागि गर्नु पर्ने भूमिकामा शुन्यता छ । यस्तो ढंगले नेपालको ज्योतिष विधालाई नै सुषुप्त बनाउछ । त्यसैले सत्ता र शक्तिको आडमा विद्वान बन्न सकिँदैन भन्ने कुराको हेक्का राख्न जरुरी छ । विद्वान बन्नका लागि त अध्ययन हुनुपर्दछ अध्ययन । (यो लेख यही जेठ १३ गतेको सूक्ष्मदृष्टि पत्रिकामा प्रकाशित छ ।)