राप्रपाले जनप्रदर्शनसहित बुझायो ज्ञापन पत्र
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
देशभरीका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउने केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार राप्रपा सुर्खेतले १९ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा तत्काल किसानहरुलाई मल र बिउ उपलब्ध गराइनुपर्ने, महङ्गी तथा कालोबजार नियन्त्रण गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृङ्खलाबद्ध मुख्यवृद्धि रोकिनु पर्ने, भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्णधार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग राखिएका छन ।

उक्त ज्ञापन पत्र राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको थियो । ज्ञापन पत्र बुझाउनु अघि राप्रपा सुर्खेतले वीरेन्द्रनगरको मंगलघडीचोकबाट जनप्रदर्शनसहितको ¥याली सुरु गरि बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेको राप्रपा निकट प्रेम बिसीले जानकारी दिए । उक्त मागहरु पुरा नभए आगामी दिनमा सशक्त रुपमा आन्दोलन अगाडि बड्ने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार आफैले भोग्नु पर्ने बिसीले बताए ।







