Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

शिक्षाको ज्योतिबाट कोही बञ्चित हुन नपरोस्ः समाजसेवी थापा

सुर्खेत ।
कर्णालीमा जन्मेर अमेरिकालाई कर्मथलो बनाएकी समाजसेवी जयन्ती थापाले शिक्षाको ज्योतिबाट कोही बञ्चित हुन नपरोस् भन्ने भावनाका साथ आफूले शिक्षाको क्षेत्रमा समाजसेवा गर्दै आइरहेको बताएकी छन् । वीरेन्द्रनगर सुर्खेतको जनजागृत प्राथामिक विद्यालयमा धर्म–पार्वती अक्षयकोषको छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उक्त विद्यालयमा अध्ययन गर्ने तीन जना बालबालिकाहरुको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी थापाले आफ्ना मातापिता धर्म–पार्वतीको नाममा १ लाखको अक्षयकोष स्थापना गरिदिएकी छन् । विद्यालयले त्यसबाट आएको व्याजले असहाय गरिब बालबालिकाहरुलाई छात्रबृत्रि वितरण गर्दै आइरहेको छ ।

छात्रबृत्ति वितरण तथा विद्यालयको तर्फबाट दाताको रुपमा जयन्तीलाई सम्मान गरिएको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जयन्तीले भनिन्, ‘मैले शैक्षिक अभिभावकत्व ग्रहण गरेका श्री जनजागृत प्रा.वि पदमपुर सुर्खेतका ३ जना नानीहरु (जसका बाबु आमा अपाङ्ग र आर्थिक अवस्था दयनिय भई स्कुल जान नसकिरहेका )र सोहि विद्यालयमा बुवा आमाको नामबाट खोलिएको धर्म पार्वती अक्षयकोषबाट अध्ययन गर्ने थप दुई जना गरि ५ जना बालबालिकासंग आज मेरो साक्षात्कार भयो । सोहि सन्दर्भभा नानीबाबुहरुलाई शैक्षिक सामग्री बितरण गर्दै उनिहरुको समग्र शैक्षिक विकासको समेत जानकारी लिने अवसर मिल्यो, नानीवावुहरु यसरी नै पढ्दै जाउ तिमीहरु सबैको उज्ज्वल भविष्यको कामना गर्दछु ।’ विद्यार्थीलाई शैक्षिक सामग्री लगायत नगद छात्रबृत्ति समेत प्रदान गरिएको कार्यक्रममा शैक्षिक अभिभावकलाई आफ्नै अगाडि पाएर विद्यार्थीहरु निकै खुसी भएका थिए । विद्यालय परिवारले समाजसेवी थापालाई सम्मान समेत गरेको छ ।

No description available.
कार्यक्रममा बोल्दै जयन्तीका पिता धर्मजंग थापाले भने, समाजसेवा गर्नका लागि मन पनि समाजसेवी हुनुपर्दछ । बच्चालाई जस्तो संस्कार दिन सकियो उसले त्यस्तै सिक्ने भएकाले घरमा आमाबाबु र विद्यालयमा शिक्षक शिक्षिकाको अहम् भूमिका हुने गर्दछ । त्यत्ति मात्र होइन विद्यालयको भौतिक निर्माणदेखि वातावरणसम्मले बाल मष्तिस्कमा गहिरो छाप पार्ने भएकाले पनि बालबालिकाको भविष्य प्रति सचेत हुन जरुरी छ उनको भनाई थियो ।

अमेरिकामा रहेपनि विद्यालयका लागि भौतिक सामग्रीदेखि ३ जना बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने विद्यालयमा अक्षयकोषको समेत स्थापना गरिदिने चेली जयन्तीको जति प्रशंसा गरेपनि कम हुने भन्दै विद्यालयका प्रधानाध्यापक ज्ञानु शर्मा गैरेले जयन्तीले देखाएको समाजसेवाबाट अरुहरुले सिक्न जरुरी रहेको बताइन् ।

No description available.
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले विद्यालयको शैक्षिकदेखि भौतिकस्तरसम्मको उन्नती गर्ने कार्यमा आउँदा दिनहरुमा समेत सबैले हातेमातो गर्न जरुरी भएको बताए । उनले भने कुनैदिन खरको छानामा भएको विद्यालय आज सबैको हातेमालोका कारण यो अवस्थामा आएको छ । यत्तिको बनाइयो भनेर ढुक्कले बस्न नहुने भएकाले अझै यसको विकास र विस्तारका लागि सबैलाई आग्रह गर्दछु उनले थपे ।

जाजरकोट, कैलाली, रुकुम पश्चिम दैलेख चितवन लगायतका जिल्लाहरुमा जयन्तीले शिक्षाका क्षेत्रमा सहयोग गर्दै आइरहेकी छन् भने विभिन्न समयमा हुने दैविक प्रकोप र उपचारको अभावमा छट्पटिनेहरुका लागि पनि उनले सहयोग गर्दै आइरहेकी छन् ।

No description available.

No description available.

No description available.