पाठकको नजरमा हटारु
कर्णाली साहित्यकर्मीको छोटो मीठो अनि आत्मिय बसाईले काठमाडौंबाट हाट गरेर फर्किएको हटारुलाई स्वागत गर्ने अवसर जुरायो । त्यसमा पनि उपन्यासकार लेखक ओम रिजालकै हातबाट पुस्तक उपहार पाएपछि त खुसीको सीमा नै रहेन । एकातिर पुस्तकको आवरण चित्रले जिज्ञासा बढायो भने अर्कोतिर शीर्षकले पूस्तक पढ्ने भोक जगायो । ाघर फर्किने वित्तिकै पढ्न सुरु गरेर दुई रातमै पुरै सकियो । यतिले मन भरिएन । पुस्तक भित्रका घत लाग्दा शब्दांशहरु खोजे । चिन्ह लगाएँ । अनि टिपोट गर्ने मन लाग्यो र पुस्तकलाई यसरी बुझें मैले ।

साहित्य समाजको दर्पण हो । समाजका तमाम चरित्रहरुलाई यसले उजागर गर्दछ । यो हरेक मनको ओखती पनि हो । रुन नसकिरहेकालाई डाकै छोड्ने बनाउँछ । हाँस्न नजान्नेहरुलाई समेत कुत्कुत्याएर खित्का छोड्न बाध्य तुल्याउँछ । साहित्य आफैमा सागर पनि हो । जहाँ तमाम खहरे झरना, तालतलैया, नदी अनि समुन्द्रहरु समाहित हुन्छन् । त्यह िसाहित्यको एउटा अनमोल कोशेली हो उपन्यास हटारु ।
लेखकलाई म व्यक्तिगत रुपमा त्यत्ति चिन्दिन । साहित्यिक सतसंगले परिचित गराएको मात्र हो । दैलेखी माटोमा जन्मेर आफ्नो बाटाको बासनालाई चारैतिर फैलाउने र आफ्नो जन्मभूमि प्रतिको कर्तव्य निर्वाह गर्न तम्तयार देखिन्छन् यी लेखक । हटारु त्यसैको उपज हो । पुस्तकका अक्षर शब्द अनि त्यसको भावलाई अध्ययन गरेर मेरो मनले कोरेका शब्द र विचित्रहरु यसरी प्रस्तुत गर्ने जमर्को गरेको छु ।
उपन्यासको शीर्षक अत्यन्त सान्दर्भीक, माटो सुहाउँदो अनि पाठकको सजिलै ध्यान खिच्न सक्ने देखिन्छ । त्यसका अतिरिक्र तत्कालिन ग्रामीण समाजको जीवनशैलीकौ प्रतिनिधि पात्र हो हटारु । किनभने तत्कालिन अवस्थामा दैलेख लगायत ग्रामीण क्षेत्रका तमाम मानिसहरु वर्षदिन पुग्ने लत्ता कपडा नून मसला र ओखती आदि लिन लामो समय लगाएर नेपालगञ्ज, राजापुर जस्ता ठाउँमा जाने गर्थे रे । किनकी नजिकमा बजारको व्यवस्था थिएन । त्यसमा पनि घरमा बनाएको घ्यूका टिन बोकेर जाने र त्यही पैसाले किनमेल गरेर फर्किन्थे । हाट र हटारु नै उनीहरुको परिचय थियो । त्यसका अतिरिक्त हाट जाँदाका दुःख घटना जीवन मरणका गाथाहरु राम्ररी पस्केको छ यसले । पुराना पूस्ताका लागि अनुभूति र नयाँ पुस्तका लागि कौतुहलता हुन सक्छ हटारु । यसैगरी यो उपन्यासलाई दैलेखी माटोको उपज लोकसाहित्य र संस्कृतिको मायाजालको रुपमा पनि लेखकले प्रस्तुत गर्न सफल भएका छन् । नयाँ पुस्ताका बीचका लोप हुँदै गएको दैलेखी भाषाको प्रयोग यसको प्रमुख सम्पत्ति हो भने सुनकेशा, कान्छो, बाउज्यू, सान्ज्या, नर्मा, सुर्जा, मैनकला, भीम, खिउरी, केदार बड्डा र नारायण काका जस्ता पात्रको छनौटले कथालाई जिवन्तता प्रदान गरेको छ ।
त्यसका साथै संस्कृति झल्काउने स्थानीय पर्व जात्रा र त्यसमा गाइने धमारी, झोडा, मांगल, भैलो, भैली र छड्के जस्ता गीतहरुको कलात्मक प्रसंगले दैलेखी पाठकलाई त्यही पुरानो समाजमा फर्केको महसुस गराउने छ ।
साना केटाकेटीलाई कथा भनेर सुनाउने प्रसंगलाई पछ्याउदै भिन्न घटना र पात्रहरुलाई जोड्ने प्रयास गरिएको छ । उपन्यासको मूल कथा बस्तु तत्कालिन नेपाली समाजको नारी समवेदना, भोगाई, संघर्ष, करुणा र विभेदलाई बनाइएको छ । जसबाट महिलाले भोग्नु परेका उत्पीडनको प्रमुख पात्र बनेकी छन् सु्नकेशा । महिला भएकै कारण घर तथा समाजले गरेको निकृष्ट व्यवहारहरु बालविवाह, बहुविवाह, गर्भदेखि हुर्काउँदा सम्मका यातनाहरु, घाँस दाउराको भारीसँगै जंगलमै बच्चा जन्माउन बाध्य रगताम्य आमाहरुको करुणाले पाठकका आँखा पक्कै रसाउँछन् । साथै ‘पैसाले प्रेमको बेर्नालाई मार्छ, आफन्तको मनमा कटुता रोप्छ ।’ ‘पैसाको अगाडि रुपको मात, यौवनको मात, सुराको मात, विद्याको मात सबै फिका हुन्छन्’ भन्ने उद्हरणले पैसाको ताकत र तत्कालिन धनीले गरिबसँग गर्ने व्यवहारको चित्रण गरेकोछ भने ‘राजनीतिले फुटाउँछ ! संस्कृतिले जुटाउँछ बाबै !’ भन्ने उद्हरणले विकृत राजनीति र संस्कृतिको महत्वलाई उजागर गर्न खोजेको छ । यसैगरी सुनकेशाः म धर्ती हुँ, धर्तीले कुनै प्राणीलाई जन्म दिएर घाँटी रेट्ने जिया हुन सक्दिन म’ भन्ने सुर्जाको भनाईले नारी संवेदना र महानताको चरित्र चित्रण गरेको छ ।
एकातिर उपन्यासले ठालू, मुखिया, जिम्मवाल तथा धनीहरुको जीवनशैली र त्यसबाट गरिब निमुखाहरले भोग्नु परेको यातनाको प्रस्फूटन गर्दै व्यवहारिक परिवर्तनको उद्घोष गरेको छ भने अर्कोतर्फ दैलेखी माटोको ख्यातीका महत्वपूर्ण उत्पादित बस्तुहरुको पनि इतिहास बताएको छ । जस्तैः नाभिस्थानको तित्रो, दहलम्सुको च्याखुरो, नारीवनको कालिज, देवधान धाराको पानी, चिने जिउलाको चामल, दश गाउँको सुर्ती, रामघाटका माछा, छिउडीका मूला, बारकोटको बिउ आदी आदी । उपन्यासको अर्को सुन्दर पक्ष दैलेखी भाषाको प्रयोगले स्थानीय पाठकले पुस्तकप्रति अपनत्व ग्रहण गर्न सजिलै सक्नेछन् भने त्यसमा पनि चौध पृष्ठ लामो उपन्यासमा प्रयोग भएका दैलेखी भाषाका शब्दहरुको नेपाली अर्थसूचीले झनै पाठकलाई सजिलो बनाउने र पाठकको संख्या बढाउने काम अवश्य गर्नेछ । लेखकले दैलेखी माटोसँग जोडेर सुरु गरेको हटारुलाई जीवनदर्शनसँग जोड्ने कलाकौशल प्रदर्शन गरेका छन् । यो उनको जीवनदर्शन पनि हुनसक्छ । कृतिलाई सम्पूर्ण मानव जगतकै साझा बनाउने प्रयन्त पनि हुन सक्छ । यो संसार हाट हो । मान्छेहरु हटारु । क्षणिक त हो मान्छेको जीवन । हाटका हटारु जस्तै हुरुरुरु आयो । बास बस्यो । उठ्यो । हिड्यो । सिद्धियो ।
हटारुको प्रवेशले नेपाली साहित्यमा एउटा महत्वपूर्ण खजानाको परिपूर्ति गराएको छ । यो पुस्तक केवल साहित्य मात्र होइन नेपाली भाषा र संस्कृतिको एउटा दस्तावेज पनि हुनसक्छ र सन्दर्भपनि । तत्कालिन नेपाली समाजको परिवेशको चित्रण गर्न मात्र यो पुस्तकको ध्येय होइन विद्यमान समाजको अध्ययन गर्दै कमजोरी केलाउँदै स्थानीय भाषा र संस्कृतिलाई नयाँ पुस्ताबीच हस्तान्तरण गरी समानता र विभेदमुक्त समाजको परिकल्पना लेखकले गरेको महसुस हुन्छ । पुस्तकका धेरै पक्षहरु सवल छन् । प्रस्तुति कलात्मक छ । भाषाको खोजी सही ठाउँमा जोड्न सक्ने कलाले लेखकको मिहिनतलाई दर्शाउछ । तर पनि कहिँ कतै कारुणिकतालाई बढि लाद्न खोजिएको पाठकले महसुस गर्नेछन् । त्यो यसको कमजोरी पक्ष हुनसक्छ । अन्तमा, कृतिको सफलताको कामना अनि लेखकको उत्तरोत्तर प्रगतिको शुभकामना ।
आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख ।






