Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

बालापानको सम्झनाः थरि–थरीका नाम

अहिले नामको असाध्य चर्चा हुने गरेको छ । सामाजिक रुपमा कतिपयका नामहरु बोलाउन समेत अप्ठेरो हुने भएपछि कानुनीरुपमै नाम परिवर्तन गर्न चाहनेहरुको संख्यामा कमी छैन् । हो सबैले उच्चारण गर्ने नाम सरल र सहज त हुनुपर्छ नै । त्यसमध्ये पनि सामाजिक रुपमा अपमानबोध हुने खालका नामहरु राख्न र बोलाउनु राम्रो होइन् । तर मलाई लाग्छ नामभन्दा पनि उसको कामको बढि प्रसंसा हुनुपर्ने हो । नाम त एउटा संकेत न हो । एक अर्कालाई हेर्ने र फरक छुट्याउने माध्यम । नामकै कारण संसारमा प्रशिद्धि कमाएका मानिसहरु सायद विरलै होलान् ।

निर्मल अधिकारी

प्रेमको प्रतिकका रुपमा मानिने गुलावलाई मैले एकदमै नजिक बाट नियालेर हेरे । गुलाव एउटा फुलको प्रजाती हो । गुलाव त्यति सुन्दर किन देखिन्छ ? के गुलाव उसको नामले राम्रो भएको हो वा उसको सुन्दरता र सुगन्धले ? मैले त्यही गुलावलाई बनमाराको नाम दिएर हेरे । त्यो गुलावरुपी वनमारामा हेर्ने मेरो दृष्टिकोण अझै परिवर्तन भएन् । जसरी बनमाराले बनै खाएको छ त्यसैगरी गुलावले पनि सबैको मनै खाएको महसुस भयो । गुलावलाई अनेकथरी नामले पुकारगरे पनि आखिर गुलाव गुलाव नै रहन्छ ।

म जन्मिदा मेरो बुबा घरमा हुनुहुन्थेन । जागिरको सिलसिलामा बाहिर हुनुहुन्थ्यो अरे । बच्चा जन्मिसकेपछि उसको नामकरण गर्नु परिवारको पहिलो दायित्व हो । मेरो बाजे ज्योतिष हुनुहुन्थ्यो । ज्योतिष शास्त्रका अनुसार जन्मकुण्डली हेरी मेरो नाम ‘सेवकराज’ राख्नु भएछ । चिनामा अहिले पनि मेरो नाम सेवकराज नै उल्लेख गरिएको छ । छ महिना पछि बुबा जागिरबाट फर्केर घर आउनु भयो । म त्यति खेर असाध्य सुन्दर थिए अरे । बालपनको सुन्दरता निक्कै लोभलाग्दो हुन्छ । त्यतिमात्रै नभएर निश्कलंक र निशंकोच पनि । सायद त्यहि भएर होला बुबाले मेरो नाम निर्मल राखिदिनु भएछ । मेरो नाम किन राख्नु भयो निर्मल भनेर धेरै वर्षसम्म सोचिरहे । सेवकराज पनि त ठिकै थियो । त्यसको जवाफ नपाउदै बुबा पनि विदा हुनुभयो । आखिर बुबाले राखिदिएकै नामबाट अहिले सम्म आफ्नो पहिचान बनाएको छु ।

मेरा नामहरु समय समयमा धेरै पटक बदलिए । म सानो छदा कान्छा बुबाले मलाई ‘निरु’ भनेर बोलाउनु हुन्थ्यो । त्यतिखेर घरपरिवार भित्र ‘निरु’ भनेर चिनिन्थे । बर्ष ४ को हुदाँ म कडा कुपोषित रोगबाट ग्रसित भए । मेरो शरिर एकदमै गलेको थियो । शरिरमा छाला र हड्डी बाहेक केही पनि देखिदैन्थे अरे । अहिले मलाई मेरै शरीरको याद छैन् । जिवन यस्तो पनि हुदोरहेछ । समय वित्दै जादाँ ति बालापनका क्षणहरुपनि हराउदै जाने । म गर्भमा रहदाँ मैले हानेको लात्ति आमालाई बिझाउछ होला तर मलाई थाहा छैन् । म जन्मिदा आमाले पाएको पिडा आमालाई थाहा होला तर म अहिले सम्झिन सक्दिन । ति क्षणहरु कसरी हराउदै जादा रहेछन् । अरुले सम्झाउदा सम्झिन्छु र सोच्छु मेरो आमाले मलाई हुर्काउनको लागि त्यतिखेर कति धेरै कष्ट व्यहोर्नु भयो होला । सबैले मलाई चाउरो भनेर बोलाउदा रहेछन् । अहिले गाउँका बुढापाकासँग भेट भयो भने भन्नुहुन्छ त यस्तो होलास भनेर हामीले सोचेकै थिएनौ । त्यतिखेर म मुसुक्क हासेर भन्छु तपाईहरुको आशिर्वादले बाँचियो र त भेट भयो ।

त्यो कडा कुपोषित रोगबाट निको बनाउनका लागि मलाई कुनै आधुनिक औषधि उपचार गरिएन् । सायद त्यो बेला सम्भव पनि थिएन होला । गाउँकै जडिबुटिले म विस्तारै सन्चो हुदै गए । मेरो जिउ पहिलाको भन्दा मजबुद हुदैगयो । गाउँकै नजिकको विद्यालयमा भर्ना भए । विद्यालयका सबै कोठाहरु झ्यालै झ्यालका थिए । झ्यालको माथी र मुनी मान्छे छिर्ने प्वालहरु । हुरी बतास लागेको बेला भित्र बस्न सकिदैन्थ्यो । कक्षामा पढ्दै गर्दा तिनै झ्यालको मुनी र कोही माथीबाट बाहिर निस्केको सरलाई पत्तै हुन्थेन ।

हामीलाई नेपाली पढाउने गुरु गंगा सिंह अहिले पनि हुनुहुन्छ । मलाई पहिलो अक्षर उहाँले नै पढाउनु भएको हो । उहाँको विषय नै नेपाली । नेपालीमा कथा हालेरै पढाउनु पर्ने । कथा सुनाएन भने विद्यार्थी कक्षामा बस्दैन्थे । किताव विरलै पल्टाउथ्यौ । कहिले काहि त कथा सुनेरै घण्टी वित्थ्यो । कथा भन्नमा पनि उहाँ खप्पिस हुनुहुन्थ्यो । हामी २० जना विद्यार्थी थियौ । ति २० जनाका २० वटा अरु उपनाम उहाँले नै राखिदिनु भएको थियो । त्यतिखेर उहाँले मेरो राखिदिएको नाम ‘बंगुर’ । कडा कुपोषण रोगबाट बाँचे पछि मेरो शरिर साच्चिकै लोभलाग्दो गरी मोटाएको थियो । सायद मोटाएको देखेर होला मेरो नाम ‘बंगुर’ राखिदिएको ।

अहिले उपनामहरु राखिदिएको बालबालिकालाई मन पर्दैन् । उपनामलाई बालबालिकामाथी हुने हिंसाका रुपमा हेरिन्छ । त्यतिखेर हामीलाई उपनामले बोलाउदा पनि आनन्द लाग्थ्यो । बंगुर भनेर बोलाउदा मलाई कहिल्यै हिंसाबोध भएन् । मजस्तै अरु साथीहरुका पनि थरिथरिका उपनामहरु थिए । सरले नै राखिदिएका हाम्रा साथीका उपनामहरु टुर्राे, ट्याउरेबुढो, बोडोलोटे, लाईटर, रातो, डेडो थिए । ट्याउरेबुढा लाई पनि हामीले अझै छोटो बनाएर ‘ट्याउरे’ मात्रै भन्ने गर्थियौ । ‘टुर्राे’ भन्ना वित्तिकै साथीको कान ठाडो हुन्थ्यो । नामहरु पनि उसको विशेषतासँग जोडिएका हुन्थे । कुनै कुनै सरोकार नभएका नामहरु पनि राखिन्थे । कतिपय साथीहरुका उपनामहरु त मैले विर्से हँुला । तर टुर्राे, बोडोलोटे, लाईटर, रातोहरु भने विर्सिएको छैन् । हामी असाध्य उत्ताउलो स्वभावका थियौ । हाम्रा हरेक दिनका योजनाहरु फरक फरक हुन्थे । कहिले आकाशमा उड्ने पंक्षीलाई छोप्ने जमर्काे गथ्र्याै त कहिले धर्तिमा असरल्ल परेर सुतेका ढुगाँहरुमा चिप्लेटि खेल्थ्यौ । हामी त्यो समयका सबै साथीहरु आ आफ्नै धन्दा गरिरहेका छौं । अहिले कोही शिक्षक, कोही नेता, कोही व्यापारी पेशामा आवद्ध छन् । म भने सामाजिक विकासको क्षेत्रमा कार्यरत छु । आफनै विकास गर्न भने अझ धेरै बाँकि नै छ ।

कक्षा ५ उर्तिण गरिसकेपछि माध्यामिक शिक्षा उर्तिण गर्न म अलि टाढाको विद्यालयमा गए । मेरो कपाल सानै उमेर देखि सेतै थियो । मेरो परिवारमा सबैको कपाल सानै उमेर देखिनै फुल्ने गर्छ सायद यो वंशाणुगत गुणको कारणले पनि होला । त्यतिखेर मेरो सेतो कपाल, किरेमिरे सर्ट, हाफपैन्ट ड्रेस हुन्थ्यो भने कहिले काहि हातमा घडि पनि बाध्ने गर्थे । विद्यालयका अधिकाँस केटीहरुले मलाई फुल्याट्टो भनेर जिस्काउथे । कपाल फुलेकोलाई फुल्याट्टो भन्ने चलन छ । माध्यामिक शिक्षा अध्ययन गरुन्जेल मेरो नाम लिखित रुपमा निर्मल बाहेक अन्यसमयमा साथीहरुले फुल्याट्टो नै भनेर चिन्ने गर्थे ।

माध्यामिक शिक्षा उर्तिण गरिसकेपछि म क्यामपस अध्ययन गर्न गए । त्यो जमानामा गाउँबाट क्यामपस अध्ययन गर्न गएको म गाउँले केटा । मेरो विहे त कलिलै उमेरमा भएको थियो । विहे गरेपछि मैले माध्यामिक शिक्षा उर्तिण गरेको हुँ । गाउँका अधिकाँस मेरा उमेरका केटाहरुको विहे कलिलै उमेरमा भयो । सबैको घरमा बुहारी । पानी बोक्ने, घासकाटन्े, घरको सरसफाई सबै बुहारीको जिम्मा । छोराहरु अध्ययन गर्ने । बुहारीले घरव्यवहार चलाउने । सायद अरुको घरको सुख देखेर होला मेरो बुबाले पनि बुहारी माग्नु भएछ । मेरो पनि विहे भयो । बिहे गरेको लगत्तै क्याम्पस पढन गएकाले नयाँ अनुहार त राम्रा लाग्ने नै भए । त्यहाँ पनि थरीथरिका मान्छे । एक जना केटी साथी अलि मेरो नजिक भईन् । म पनि उनको नजिक हुदै गए । तपाई, तिमी, त हुदै पछि उनले मलाई ‘कालु’ भन्न थालिन् । त्यसपछि मेरो नाम ‘कालु’ भयो । हुन त त्यति कालो छैन् । गहुगोरो बर्ण भए पनि उनले किन मलाई कालु भनेर मेरो नाम सम्बोधन गरिन मलाई नै थाहा भएन् । नाम पनि समय र परिस्थती अनुसार परिवर्तन हुदै जाने रहेछन् । चाउरो, बंगुर, फुल्याट्टो, कालु जे जे नामले सम्बोधन गरे पनि अहिले सबैले चिन्ने नाम भने निर्मल नै रह्यो । र यसै नामले पहिचान बनाएको छु । बुबाले किन सेवकराजबाट निर्मल भनेर नाम राख्नु भयो त्यो कौतुहलता भने मेटिएको छैन् ।

आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख ।