गाउँपालिका राष्ट्रिय महासंघमा उम्मेदवारी घोषणा
सुर्खेत ।
यही मंसिर २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलनले महासंघको पदाधिकारी समेत छनोट गर्ने भएकाले अध्यक्ष पदका लागि जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

देशभरका ४ सय ६० वटै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउँदै उनले अध्यक्ष पदका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कार्यहरु गर्दै आफूले मतदाता सामु गरेको प्रतिवद्धताहरु पूरा गराउने कार्यमा जुटिसकेका अध्यक्ष शाहीले सामाजिक सञ्जाल (फेसबुकमा) लेख्दै आफूले महासंघको अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘सहयोगको लागि हार्दिक अनुरोधः गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिएको छु । नेपाल भरीबाट पाल्नुहुने सम्पूर्ण गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ज्यूहरुले पूर्ण समर्थन गरी निर्वाचित हुने विश्वास लिएको छु ।’







